८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

इच्छाराजसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा दर्ता


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • इच्छाराजसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा दर्ता

    काठमाडौं, १७ मंसिर – पूर्वसांसद समेत रहेका इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ४२ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो।

    यो मुद्दा अहिलेसम्मकै ठूलो रकमको र धेरै पीडित भएको मुद्दा रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगोदाबी गरिएको छ। उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

    उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए। ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ। सिभिल सहकारीको सञ्चालक समितिका सदस्य गोपाल बहादुर श्रेष्ठको दुई वर्षपहिले नै मृत्यु भएको थियो। यस मुद्दामा १२ जना पक्राउ परेका छन् भने २९ जना अझै फरार रहेको अभियोजन–पत्रमा उल्लेख छ।

    सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ। बाँकी २९ जना फरार छन्।

    यी हुन् फरार २९ 
    फरार हुनेमा सञ्चालक समितिका सदस्यहरु सुमन नन्दन वैद्य, प्रविण मुखिया, अष्टरत्न तुलाधर, प्रविण प्रसाद प्रधान, पूर्वसदस्यहरु दानहिरा तुलाधर, रामकृष्ण पौडेल, खेमनाथ डल्लाकोटी, इन्द्रराज हुमागाईं, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, दुर्गाप्रसाद संग्रौला र नगेन्द्र बिमली फरार छन्।

    यस्तै लेखा समिति सदस्य सिर्जना शाक्य, लेखा समिति पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सिभिल बिजनेस कम्प्लेक्सका सञ्चालक लालकाजी गुरुङ, उनकी श्रीमती मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, महाप्रबन्धक प्रकाश कुमार बर्मा, प्रबन्धक सुवास कुमार श्रेष्ठ र पूर्वउपमहाप्रबन्धक रन्जना महर्जन पनि फरार रहेको प्रहरीले जनाएको छ।

    त्यस्तै, जुनियर सहायक प्रबन्धक अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, अधिकृत कान्तीलक्ष्मी उपाध्याय र इच्छाराजका छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङविरुद्ध मुद्दा दायर भएको हो। यी २९ जना भने फरार रहेको सीआईबीले जनाएको छ।

    इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना र सहकारीको सञ्चालक समितिका वर्तमान र पूर्वसदस्यहरुले गम्भीर कसुर गरेको भन्दै उनीहरुबाट क्षतिपूर्ति समेत भराउन मागदाबी गरिएको छ।

    गत बिहीबार सीआईबीले सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend