श्री ३ महाराज जंगबहादुरको पालामा गोरखाका लखन थापाले विद्रोह गरेका थिए। त्यसपछि लखन थापालाई जंगबहादुरकै आदेशअनुसार आँगनको डिलमा झुन्ड्याएर मारियो। उनको घर भत्काइयो।
घरभित्रको पूजाकोठा भत्काएर पाताल बनाइदिए। ‘जंगबहादुरको शासनकालमा गोरखाका लखन थापाले विद्रोह गरे, त्यसपछि जंगबहादुर जंगिए, त्यही झोँकमा लखन थापालाई आँगनको डिलमा झुन्ड्याइयो,’ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले भने, ‘लखन थापा जंगबहादुरको पालामा विरोध गर्ने र अन्याय नसहने निडर व्यक्ति थिए, उनी मगर भए पनि धर्मकर्म गर्दथे।’
उनका अनुसार त्यही वेलामा गोरखाका सुकदेव र सुपती गुरुङले जंगबहादुरको विरोध गर्दै आन्दोलन चर्काए। त्यसपछि तिनीहरूलाई पनि सरकारले पक्राउ गर्न थाल्यो। पक्राउ गर्छ भन्ने थाहा पाएपछि सुपती गुरुङ भागे। उनी कहाँ गए पत्ता लाग्न सकेन। त्यसपछि सुकदेव गुरुङ पक्राउ परे। उनलाई पोखराको जेलमा राखियो। कैदी अवस्थामै जेलभित्र उनको मृत्यु भयो। तत्कालीन सरकारले उनको दाहसंस्कार गरेको थियो।
भैरहवा क्षेत्रमा त्यहाँका गुरुङ समुदायले सुकदेवको सालिक बनाएका छन्। तर, लखन थापालाई सरकारले सहिद भने पनि सुकदेव र सुपतीको अत्तोपत्तो नभएको उपकुलपति गुरुङको भनाइ छ। उनले भने, ‘त्यसभन्दा अघि लिपि आविष्कार गर्ने श्रीजंगा मारिएका थिए। त्यो लिपिलाई राई–लिम्बूले प्रयोग गर्छन्। श्रीजंगालाई पनि शाहकालभन्दा अघि नै मारिएको थियो।’ उनलाई रूखमा बाँधेर पाता कसेर वाँण हानेर मारिएको उपकुलपति गुरुङको भनाइ छ। उनका अनुसार श्रीजंगालाई पनि सरकारले सहिद मानेको छ।
त्यस्तै, ०६२/६३ को आन्दोलनमा सेनाको गोली लागेर मरेकालाई पनि सहिद मानिएको छ। जानकारहरूका अनुसार श्री ३ महाराज रणदीपसिंह राणा, जो अहिलेको नारायणहिटीमा बस्थे उनलाई धीरशमशेरका १७ भाइ छोराले गोली ठोकेर मारिदिएका थिए। त्यो गोली ठोक्ने खड्गशमशेर थिए। त्यसपछि वीरशमशेर श्री ३ महाराज भए। श्री ३ महाराज वीरशमशेर र रणदीपसिंहलाई गोली ठोक्ने खड्गशमशेरबीच खडाजंगी (विद्रोह) सुरु भयो।
वीरशमशेरले खड्गशमशेरलाई कालीपार (कालीगण्डकीदेखि पश्चिमपट्टि) निष्कासन गरिदिए। उनी काठमाडौंबाट निष्कासित भए। तर, श्री ३ महाराजको आज्ञालाई अवज्ञा गर्छु भनेर खड्गशमशेर पश्चिम गएनन्। स्याङ्जाको मालुंगामा बसे। ‘त्यहाँ बसेर बारुदखाना बनाउन थाले वीरशमशेरको विरोध गर्न, पुराना–पुराना सेनाका व्यक्ति र भाइभारदालाई ‘सहयोग गर’ भनेर पत्राचार गर्दै खड्गशमशेर अघि बढे,’ गुरुङले सुनाए, ‘तर, हुलाक वीरशमशेरको हातमा थियो, अनि खड्गशमशेरले भाइ–भारदारहरूलाई लेखेको पत्र पनि खोलुवा गरेर (खोलेर) वीरशमशेरकहाँ जाहेर गरे।’
उनका अनुसार भारदारहरूले खड्गशमशेरलाई लेखेको पत्र पनि कर्मचारीले खोलेर वीरशमशेरकहाँ पठाए। त्यस समय अर्थात् जंगबहादुरको समयमा कास्कीको घलेलमा कुम्भसिंह गुरुङ र चन्द्रसिंह गुरुङ जंगबहादुरका हजुरिया कप्तान थिए।
उनी जागिरबाट अवकाश लिएपछि उत्तै घलेलमा गएर बसेका थिए। ‘अनि खड्गशमशेरले कुम्भसिंह गुरुङ र चन्द्रसिंह गुरुङलाई लेखेको पत्र खोलुवा गरेर वीरशमशेरकहाँ पठाइदिए,’ गुरुङले भने, ‘त्यसपछि कुम्भसिंह गुरुङ र चन्द्रसिंह गुरुङ खड्गशमशेरका मतियार रहेछन् तिनलाई झुन्ड्याएर मृत्युदण्ड दिनू भनेर श्री ३ वीरशमशेरले पोखरा गोश्वारालाई बडापत्र लेखेर पठाए ।’
उपकुलपति गुरुङको भनाइअनुसार, तर खड्गशमशेरले कुम्भसिंह गुरुङ र चन्द्रसिंह गुरुङलाई लेखेको पत्र खोलुवा भएर वीरशमशेरकहाँ आएको रहेनछ। एक–दुई दिनपछि मात्रै उनीहरू (चन्द्रसिंह र कुम्भसिंह)कहाँ पुगेछ। चन्द्रसिंह गुरुङले खड्गशमशेरलाई फरक शैली र भाषाको पत्र लेखेको थिए। पत्रमा उल्लेख भएको पहिलो कुरा– ‘हामी दुनियाँदारले राजाको भाइ खलकको घरझगडामा जाग्न हुँदैन।’ दोस्रो कुरा– ‘मैले सरकारको सेवा गर्नुसम्म गरेँ, तर अहिले म वृद्ध अवस्थामा पुगेको हुनाले मचाहिँ सेवा गर्न सक्दिनँ।’
गुरुङका अनुसार कप्तान चन्द्रसिंह गुरुङले लेखेको यो पत्र वीरशमशेरकहाँ पनि खोलुवा भएर जाहेर भयो। त्यसपछि चन्द्रसिंह गुरुङ त निर्दोष रहेछ। त्यसकारण चन्द्रसिंह गुरुङलाई नमार्नू भन्ने पत्र पठाए वीरशमशेरले। त्यतिवेला अघिअघि मार्नू भन्ने र पछिपछि नमार्नू भन्ने पत्र गयो। ‘त्यतिखेर यस्ता खतरनाक पत्रहरूलाई जरुरी पत्र भनिँदो रहेछ,’ गुरुङ भन्छन्, ‘जसका लागि रातदिन हुलाक चलाउनुपर्दथ्यो। जरुरी पत्रलाई राँको बालेर डुंगामा तार्ने गरिन्थ्यो।’
उनका अनुसार त्यसपछि कुम्भसिंह र चन्द्रसिंहलाई नमार्नू भन्ने बडापत्र पोखरा पश्चिम ३ नम्बर गोश्वारामा पुग्यो। त्यहाँबाट सैनिकहरू गए, कुम्भसिंह र चन्द्रसिंहलाई पक्रन। अनि कुम्भसिंह भागे। उनलाई सेनाले पक्रन सकेन। अनि चन्द्रसिंह गुरुङ पक्राउ परे। उनलाई पोखराको महेन्द्र पुल (हालको सेती)को डिलमा खिर्राको रूखमा झुन्ड्याइदियो।
झुन्ड्याएपछि नमार्नू भन्ने पत्र पुग्यो त्यहाँ। नमार्नू भन्ने आदेश लेखिएको पत्र पुग्नेवेला चन्द्रसिंह छटपटाउँदै थिए। त्यही क्रममा सैनिकहरूले पत्र खोलेर पढे। पत्रमा नमार्नू भन्ने आदेश भएको थियो। तर, चन्द्रसिंह कप्तान मरे।
‘मेरो निर्धो श्रीमानलाई सरकारले हत्या गर्याे भनेर उनकी श्रीमती चन्द्रशोभा गुरुङ सती गइन्,’ उपकुलपति गुरुङले भने, ‘सतीको श्राप मोचनको कुरा वीरशमशेरकहाँ जाहेर भयो। त्यसपछि ओहो ! ठूलो गल्ती भएछ भनेर गल्तीको महसुस गरे वीरशमशेरले।’
कुम्भसिंहको छोराछोरी थिएनन्। चन्द्रसिंहको छोराछोरी ससानै रहेछन्। अनि कुम्भसिंहको भाइ चन्द्रसिंहको दाइको छोरा नैनसिंह गुरुङलाई क्षतिपूर्तिको रूपमा ढाक्रेबाट चन्द्रसिंह गुरुङको कप्तान बनाइदिए वीरशमशेरले। अहिले कप्तान नैनसिंह गुरुङका सन्तानहरू कास्की ल्वाङको साँखु र कप्तान चन्द्रसिंह गुरुङका सन्तानहरू कास्की ल्वाङको युमुमा छन्।
‘उनीहरूको कुरा के छ भने गाउँघर एक भाइले घर धान्ने (घरको काम गर्ने) र अर्कोको देश धान्ने (विदेश गएर जागिर खाने, पैसा कमाउने) भन्ने चलन चलाए,’ उपकुलपति गुरुङले भने, ‘चन्द्रसिंह देश धान्न नेपालमा जागिर खाएका थिए। कुम्भसिंह घर धान्ने भनेर गाउँघरमै बस्ने रहेछन्।’
गुरुङका अनुसार एकपटक भाइलाई पनि भेटौँ र नेपाल पनि हेरौँ भनेर कुम्भसिंह काठमाडौं आएका थिए। टुँडिखेलमा सेनाको कवाज खेलेको हेर्न गए कुम्भसिंह। त्यतिवेला कवाजमा सलामी लिएपछि जंगबहादुर त्यहाँ जम्मा भएका मानिस भेला भएको ठाउँमा गएका थिए। त्यही क्रममा मानिसको हुलमा रातोपिरो जवान युवक देखे जंगबहादुरले।
त्यतिवेला चन्द्रसिंह गुरुङ हजुरिया कप्तान थिए जंगबहादुरको। ‘उनी जंगबहादुर सँगसँगै हुने नै भए, अनि जंगबहादुरले चन्द्रसिंहलाई यो को हो ? भनेर सोधे,’ उपकुलपति गुरुङले भने, ‘चन्द्रसिंहले दाइ हो महाराज भनेर बिन्ती गरे, ती कुम्भसिंह गुरुङ थिए, ल यिनलाई पनि भर्ती गराइदिनू भनेर भने जगंबहादुरले, त्यसपछि कुम्भसिंह भर्ती भए।’
तर, भर्ती भएको दुई दिनपछि जंगबहादुरकहाँ गए कुम्भसिंह। त्यहाँ गएर उनले यो जागिर खान्नँ भने। जंगबहादुरले सोध– किन ? कुम्भसिंहले दाइले भाइलाई ढोग गर्न पनि जागिर खान्छन् त भनेर जवाफ दिए। त्यहाँ भाइ कप्तान दाइ सिपाही थिए। दाइले भाइलाई सलाम गर्नुपर्ने भएपछि कुम्भसिंहले यसो भनेका थिए।
त्यसपछि जंगबहादुरले कुम्भसिंहलाई कप्तान बनाइदिएको इतिहास रहेको उपकुलपति गुरुङको भनाइ छ। उनका अनुसार चन्द्रसिंहमा पृथ्वीनारायण शाहको चरित्र थियो। चन्द्रसिंह बोल्न डराउँदैनथे। ‘तर, यी दुई व्यक्तिबारे राज्यले बुझेन, त्यतिवेलाका देश र घर चलाउने यस्ता सहिदहरूबारे पनि राज्यले सोच्नुपर्छ,’ उपकुलपति गुरुङले सुनाए।