८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कोरोनाको नयाँ ‘ओमिक्रोन भेरियन्ट’ कस्तो ? नेपाल कति जोखिममा ?


डा. शेरबहादुर पुन
  • १७ मंसिर २०७८ , शुक्रबार

  • कोरोनाको नयाँ  ‘ओमिक्रोन भेरियन्ट’ कस्तो ? नेपाल कति जोखिममा ?

    दक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९  भाइरस भएको पत्ता लाग्यो।

    सो भाइरसमा अत्यधिक जेनेटिक कोडमा परिवर्तन देखिएपछि २४ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनलाई सो नयाँ भाइरसको बारेमा जानकारी दिइयो।

    २६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तिमार्फत् सो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गर्‍यो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।

    प्रारम्भिक नतिजाले अरू ‘भेरियन्ट अफ कन्सर्न’ का भाइरसभन्दा ‘ओमिक्रोन भेरियन्ट’ ले बढी रि-इन्फेक्सन (पुनः संक्रमण) गराउन सक्ने क्षमता देखाएको भनिएको छ।

    धेरै प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना भाइरसको स्पाइक जीन देखाउन वा पत्ता लगाउन नसकेको भनिएको छ। यसबाट यो भाइरसको स्पाइक जीनमा ठूलो परिवर्तन भएको संकेत गर्दछ।

    अहिले स्पाइक जीनमा देखिएको ठूलो परिवर्तनले गर्दा नै वैज्ञानिकहरूमा चिन्ता बढेको छ।

    हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन्। तर खोप लगाएपछि बनेका एन्टिबडीले स्पाइक जीनमा अत्यधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुनेछ।

    अर्थात्, खोपको हाल स्थापित प्रभावकारिताको स्तर खस्कन सक्ने सम्भावना रहन्छ। यसैलाई आधार मानेर एकथरीले खोप नै पूर्ण प्रभावहीन हुने आकलन गरिरहेका छन्।

    यस्तै, सम्भावना/अनुमान ‘डेल्टा भेरियन्ट’मा पनि गरिएको थियो। ‘डेल्टा भेरियन्ट’विरूद्ध खोपको प्रभावकारिता क्लिनिकल ट्रायलमा देखिएकोभन्दा केही खस्किएको भएता पनि समग्रमा धेरैलाई जटिल वा मृत्यु हुनबाट जोगाएको थियो।

    यसको राम्रो उदाहरणमा नेपाललाई लिन सकिन्छ। किनभने दोस्रो लहरको कारक मानिएको डेल्टा भेरियन्टले खोप लगाएकाहरूमा जटिल अवस्था ल्याएर अस्पतालको सघन उपचार कक्षसम्म ल्याएको लगभग देखिएन।

    अर्थात् अधिकांश बिरामीहरू खोप नलगाएकाहरू नै थिए।

    दक्षिण अफ्रिकामा दुई मात्रा पूर्ण खोप लगाएकाहरू कम भएकाले पनि भाइरस तीव्र गतिमा फैलिएको वा संक्रमितमा जटिल अवस्था देखिँदै गरिरहेको हुनसक्छ। तर दुई मात्रा पूर्ण खोप लगाइसकेका देशहरूमा पनि ‘ओमिक्रोन भेरियन्ट’ ले जटिल अवस्था ल्याउन थाले भने चाहिँ अहिले विकास भएका खोपहरू प्रभावविहीन रहेछ भन्ने आधार हुनेछ। तसर्थ कुनै परीक्षण वा अनुसन्धानबिना खोपले पूर्ण रूपमा कामै गर्दैन भन्नु तर्क संगत देखिँदैन।

    त्यस्तै ‘ओमिक्रोन भेरियन्ट’ डेल्टाभन्दा पनि कडा छ वा हुनसक्छ भन्ने पर्याप्त आधार पनि देखिँदैन।

    धेरै जेनेटिक कोड परिवर्तन हुनेबित्तिकै भाइरसको अघिल्लो भेरियन्टभन्दा फरक हर्कत हुनसक्छ तर त्यो कडा वा नरम जे पनि हुनसक्छ र ‘ओमिक्रोन भेरियन्ट’ को घातकताबारे आजको मितिसम्म अध्ययनकै विषय बनेको छ। यसबारे तथ्यहरू बाहिर आइसकेका छैनन्।

    दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन भेरियन्ट’ ले विश्वमा जस्तै नेपालमा पनि पछिल्लो केही दिनयता त्रास बढाएको छ।

    नेपाल कति जोखिममा छ भन्ने चासो सबैमा बढ्दै गएको देखिन्छ।

    नेपालमा मुख्यतय दुई नाकाबाट ‘ओमिक्रोन भेरियन्ट’ प्रवेश गर्ने सम्भावना देखिन्छ। एक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अर्को नेपाल-भारत खुला सीमाना।

    विगतमा पनि यी दुई नाकाबाट कोरोना भाइरस नेपाल भित्रिएको अनुभव छ।

    भारतमा ‘ओमिक्रोन भेरियन्ट’ फैलिन सुरू भए नेपालमा आउनबाट पूर्णरूपमा रोक्न लगभग असम्भव छ भन्ने विगतको अनुभवले पनि देखाएको छ।

    तसर्थ, नेपालमा संकलन गरेका नमूनाको पिसिआरमा ‘एस जीन’ नेगेटिभ देखिए जीन सिक्वेन्सिङ गरी ‘ओमिक्रोन भेरियन्ट’ हो वा होइन भनेर पुष्टि गर्नुपर्छ।

    त्यस्तै, नेपालमा राजनीतिक जमघट बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढ्दै गइरहेको छ। डेल्टा भेरियन्टले उचाइ लिनुभन्दा अगाडि पनि यस्तै ठूल्ठूला राजनीतिक जमघट/सभा सम्मेलन भएका थिए।

    आजको मितिसम्म ‘ओमिक्रोन भेरियन्ट’ बारेमा तथ्य कम, अनुमान बढी हुँदै आइरहेका छन्।

    प्रारम्भिक नतिजाले यो भाइरस छिटो फैलिने तथा अरू भेरियन्ट भन्दा बढी पुन: संक्रमण गर्न सक्ने क्षमता बढिरहेको भनिएको छ। तर कति घातक र खोपको प्रभावकारितालाई कति र कसरी चुनौती दिनसक्छ भन्ने बारेमा पूर्ण जानकारी आउन भने बाँकी नै छ।

    तसर्थ, अनुसन्धान, अनुभवबिना ‘ओमिक्रोन भेरियन्ट’ डेल्टाभन्दा कडा र हाल उपलब्ध खोपहरूलाई पूर्ण प्रभावहीन बनाउँछ भन्नु हतारो हुन्छ। तर पनि ‘ओमिक्रोन भेरियन्ट’ मा विशेष गरेर स्पाइक जीनमा अत्यधिक म्युटेसन देखिएको हुँदा सबैको मनमा अन्योल, त्रास र आ-आफ्नै अनुमान छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend