९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गठबन्धन चुनावसम्मै लैजाऊँ : रामचन्द्र पौडेल


जनमञ्च संवाददाता
  • २३ माघ २०७८ , आइतबार

  • गठबन्धन चुनावसम्मै लैजाऊँ : रामचन्द्र पौडेल

    पोखरा, २३ माघ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताएका छन्।

    कास्कीको पोखरामा आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले गठबन्धनलाई चुनावसम्मै लैजानु पर्ने बताएका हुन्।

    कांग्रेससँग ३० प्रतिशत मात्रै मत भएको बताउँदै नेता पौडेलले कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाउँमा जान नदिन पनि गठबन्धन आवश्यक भएकोमा जोड दिए।

    उनले संविधानअनुसार कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तीहरुले चुनावमा गठबन्धन बनाउन आवश्यक रहेको जिकिर गरे।

    ‘संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउन पनि अरु पार्टीसँग गठबन्धन गर्नैपर्छ,’ पौडेलले भने, ‘गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ।’

    पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरुलाई प्रश्नसमेत गरे। ‘राष्ट्रियसभामा तीनजना थिए। अहिले गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धी हो कि होइन?,’ उनले सोधे।

    नेता पौडेलले आगामी चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने भन्नेबारे नेतृत्वले सोच्नुपर्ने पनि बताए।

    ‘कांग्रेससामु ठूलो चुनौतीको पहाड छ। अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो। ती चुनावमा जनतामा कसरी आशा जगाउने यो बारेमा पदाधिकारीले सोच्न जरुरी छ,’ उनले भने, ‘म अहिले उत्तर दिने ठाँउमा छैन। उत्तर दिने ठाउँमा भएका पार्टीका पदाधिकारी साथीहरुले जनतालाई आशा जगाउने सन्देश के दिने हो र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो सोच्नु होला।’

    नेता पौडेलले पार्टीभित्रको गुटबन्दीलाई केवल महाधिवेशनमा मन लागेकालाई जिताउन र मन नलगेकालाई हराउनमा मात्रै सीमित राख्नुपर्ने भन्दै गुटबन्दीलाई अन्तर्घातमा पुर्‍याउन नहुने स्पष्ट पारे।

    इतिहासमा रछ्यानमा फ्याकिएका तत्वले संविधानलाई गिज्याउन थालेका बताउँदै उनले कांग्रेस र सत्ताधारी दलहरु यो संविधान र व्यवस्थाको पक्षमा चट्टान जस्तै उभिनुपर्ने उल्लेख गरे।

    ‘कांग्रेस कै कतिपय साथीहरु बीपीले राजासँग घाँटी जोडिएको छ भन्नुभएको थियो। अब त त्यसै गर्ने कि भन्नुहुन्छ,’ उनले भने, ‘त्यो होइन, वीपीले राजालाई लोकतन्त्र चाहिँदैन भने हामीलाई पनि राजा चाहिँदैन भन्नु भएको थियो।’

    वरिष्ठ नेता पौडेलले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी परियोजना एमसीसीका बारेमा भ्रम छरेको आरोप लगाए।

    ‘मैले गठबन्धनको बैठकमा नै भने एमसीसीबारे आमजनतालाई कन्भिन्स गराउनुभयो। अब मलाई कन्भिन्स गराउनुस्, होइन भने कार्यान्वनमा लैजाऊँ,’ पौडेलले भने, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो। ठूला विकास आयोजना ठप्प छन्। यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend