काठमाडौं, २५ माघ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ।आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
स्थानीय निर्वाचन तयारीका लागि भन्दै महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई पत्र पठाएका छन्। त्यसमा उनले निर्वाचन तयारीमा जुट्न भनेका छन्।
दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन् । उद्घाटन कार्यक्रममा केन्द्रीय नेताहरु काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट सहभागी हुनेछन्।
प्रशिक्षणमा प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी सहभागी हुनेछन्।
स्थानीय निर्वाचन लक्षित दुई दिने प्रशिक्षण कार्यक्रमा सातै प्रदेशका राजधानी र मुख्य सहरमा हुनेछ।
एमालेले यो प्रशिक्षणमा दसौँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे चर्चा गर्ने भएको छ। त्यसैगरी सवल, गतिशील र अनुशासित पार्टी निर्माण तथा राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु पनि समावेश गरिएको छ।
एमालेले स्थानीय तहमा पार्टीका पाँच वर्षका उपलब्धी र अनुभवहरूबारे पनि कुरा गर्ने भएको छ। त्यसैगरी स्थानीय तह निर्वाचनको तयारी तथा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरुबारे पनि नेताहरुले प्रशिक्षण दिने भएका छन्।
कार्यक्रमस्थल :
प्रदेश १ : फागुन १-२, विराटनगर
मधेश प्रदेश : फागुन ३-४, जनकपुर
बागमती प्रदेश : फागुन ६-७, काठमाडौं
गण्डकी प्रदेश : फागुन ८-९, पोखरा
लुम्बिनी प्रदेश : फागुन ११-१२, बुटवल/दाङ
कर्णाली प्रदेश: फागुन १४-१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश : फागुन १६-१७, धनगढी