२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
आगामी २४ घण्टाका लागि चेतावनी

आजदेखि फेरि वर्षा-हिमपातको सम्भावना


जनमञ्च संवाददाता
  • २६ माघ २०७८ , बुधबार

  • आजदेखि फेरि वर्षा-हिमपातको सम्भावना
    काठेखोला-२ भीमापोखरामा हिमपात । तस्वीर: प्रेम केसी/जनमञ्च

    काठमाडौं, २६ माघ – केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरु हुने भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान  ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि कम्तीमा शुक्रबारसम्म देशका धेरैजसो स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको हो।

    महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

    जसमा भनिएको छ : देशभर मौसम बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

    मौसमविद् मञ्जु बासीका अनुसार पुनः पश्चिमी न्यून चापीय प्रणाली विकास भएकाले विशेषगरी दुई दिन अर्थात् बुधबार र बिहीबार मौसम बदली, वर्षा र हिमपात हुने सम्भावना देखिएको हो।

    काठमाडौं उपत्यकामा भने आज यसको खासै असर नदेखिने उनको अनुमान छ।

    ‘मौसम बदली हुन सक्छ, तर वर्षाको सम्भावना एकदमै न्यून छ’, मौसमविद् बासीले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘वर्षा भइहाले पनि फाटफुट होला।’

    महाशाखाका अनुसार यस्ताे छ, आगामी ३ दिनको मौसम अनुमान :

    माघ २६ गते बुधबार (आज) 
    दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

    राति : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीलगायत बागमती र प्रदेश नं १ का पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    माघ २७ गते बिहीबार
    दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    माघ २८ गते शुक्रबार
    दिउँसो : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयस सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।​

    (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ। यसैगरी आंशिक बदली भनेको धरैजसो आकाश खुला, थोरैमा बादल, सामान्य बदली भनेको धेरैजसो आकाशमा बादल, थोरै खुला, पूर्ण बदली भनेको पूरै आकाश बादलले ढाकेको तथा मौसम सफा भनेको आकाशमा कतै बादल नभएको अवस्था हो।)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend