काठमाडौं, २९ माघ – अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शनिबार दिउँसो बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको हो। देउवाले एमसिसीमा सहमति खोज्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएका थिए।
बैठकमा देउवाले संसदमा एमसिसी टेबुल गर्न ढिलो नगरौं भनी प्रस्ताव राखेका थिए। तर, जवाफमा प्रचण्ड र नेपालले एमसिसीबारे सबै दलहरूबीच साझा धारणा बनाउनुपर्ने बताएका थिए।
एमसिसीमा सहमति नजुटेपछि बैठक फेरि बस्नेगरी टुंगिएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए। ‘आज बसेको बैठकमा कुनै निष्कर्ष निस्किएन, बैठक फेरि बस्ने कुरा भएको छ,’ उनले भने।