१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
गठबन्धन तोडिने पनि सम्भावना

एमसीसी विवादले सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक आज


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७८ , बिहिबार

  • एमसीसी विवादले सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक आज

    काठमाडौं, ५ फागुन – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच आज (बिहीबार) ‘निर्णायक’ छलफल हुने भएको छ।

    सत्ता गठबन्धनका दलमध्ये नेपाली कांग्रेस मात्रै सम्झौता जस्ताको तस्तै प्रतिनिधि सभाबाट अनुमोदन गरिहाल्नुपर्ने पक्षमा देखिएको छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा) समेत एमसीसी संशोधन नगरी तत्काल संसदबाट पास गर्न नहुने पक्षमा उभिएका छन्। राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसीविरुद्ध छ।

    हिजो बुधबारकै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरिछाड्ने योजनामा रहेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रलगायत गठबन्धनमै रहेका दलले विरोध गरेपछि सफल हुन सकेनन्।

    यसबीच नेकपा माओवादी केन्द्रले त एमसीसी जबर्जस्ती संसदमा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा) समेत एमसीसी संशोधन नगरी संसदमा पेस गर्न नहुने पक्षमा उभिएका छन्। राष्ट्रिय जनमोर्चा त पहिलेदेखि नै एमसीसी खारेजै हुनुपर्छ भनिरहेको छ।

    यसले गर्दा अहिले सत्ता गठबन्धनका पाँच दलमध्ये एमसीसी पास गरिहाल्नुपर्छ भन्ने पक्षमा कांग्रेस एक्लो देखिएकाे छ। यसैकारण प्रधानमन्त्री देउवाले आज गठबन्धनका दलसँग निर्णायक छलफल गर्ने भएका हुन्।

    आज फागुन ५ गते दिउँसो ३ बजे सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै छ। कांग्रेसका एक नेताका शब्दमा त्यो बैठक ‘निर्णायक’ हुनेछ। माओवादी केन्द्रका एक नेताका अनुसार प्रधानमन्त्री देउवा एमसीसी सम्झौता टेबल गराइछाड्ने अडानमा छन्।

    ‘हाम्रो अध्यक्षले अहिलेको परिस्थिति एमसीसी अनुकूल नभएकोले यसलाई अहिले रोकौँ भन्नुभयो,’ ती नेताले भने, ‘प्रधानमन्त्रीले पेस गरेर जाने, जे हुन्छ संसदमै हेरौंला भन्नुभएछ।’

    प्रचण्डले आफ्नो पार्टीको दलको बैठकले गरेको निर्णयबारे देउवालाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ। त्यसपछि प्रधानमन्त्री देउवा अन्तिमपटक गठबन्धनको बैठकमा छलफल गर्न राजी भएका हुन्।

    आज दिउँसो गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल हुनेछ। माओवादी केन्द्रले आफ्ना नेताहरुलाई बिहीबार (आज) बस्ने गठबन्धनको बैठक अन्तिम हुने र कुनै पनि बेला सरकार छाड्ने निर्णय हुनसक्ने भएकाले तयारी रहन सन्देश दिएको छ।

    एमसीसी सम्झौतालाई सदनमा टेबल गर्ने कुराबाट कांग्रेस पछि नहटे आफ्नो पार्टी सरकारबाट बाहिरिने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

    यसैबीच आजको गठबन्धन बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी  नहुने उनी निकट एक नेताले दाबी गरेका छन्। जसपाले पनि एमसीसीका विषयमा बुधबारदेखि एकाएक आफ्नो धारणा परिवर्तन गरेको हो। तर जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसी अनुमोदन गरिहाल्नुपर्ने पक्षमा देखिएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend