बागलुङ, ६ फागुन – धौलागिरी आयुर्वेद औषधालय बागलुङ उत्कृष्ट कार्यालय घोषणा भएको छ । गण्डकी प्रदेश सरकार मातहत बागलुङ जिल्लामा रहेका कार्यालयमध्ये औषधालय उत्कृष्ट कार्यालय घोषित भएको हो ।
गण्डकी प्रदेश स्थापना दिनका अवसरमा जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको थियो । एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्यांकन गरेको थियो ।
‘बागलुङमा हामी उत्कृष्ट भएका छौं, मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार कार्यालय पुरस्कृत हुनेछ’ औषधालयका प्रमुख डाक्टर सरोज कुमार रायले भने ‘यसअघि पनि औषधालय गण्डकी प्रदेशमै उत्कृष्ट काम गर्ने कार्यालय बनेको थियो ।’
प्रदेश सरकारले मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगति लगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याकन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको हो । औषधालयले कोरोना महामारीका बेला आर्युवेदक उपचार तथा योग र साधनामा उल्लेख्य काम गरेको थियो ।
औषधालयले जिल्लाका बिभिन्न संघ संस्थासँग सहकार्य गरेर योग शिविरहरु सञ्चालन गरेको थियो । कोभिडका बिरामीका लागि आईसोलेसन कक्ष र घर घरमै पुगेर औषधि समेत वितरण गरेको थियो ।
कार्यालय प्रमुख रायलाई निजामती पुरस्कार
गण्डकी प्रदेश सरकारले प्रदान गर्ने प्रदेश निजामती सेवा पुरस्कारका लागि धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोज कुमार राय छनोट भएका छन् । स्थापना दिवसको अवसरमा प्रदान गरिने पुरस्कारका लागि १३ जना कर्मचारी छनोट हुँदा राय पनि पुरस्कारका लागि छनोट भएका हुन् ।
प्रदेश सरकारले सर्वोत्कृष्ट प्रदेश निजामती सेवा कर्मचारी पुरस्कार एक जनालाई, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार दुई जनालाई र प्रदेश निजामती सेवा पुरस्कार १३ जनालाई प्रदान गर्ने गरेको छ । बागलुङबाट पुरस्कारका लागि छनोट हुन राय एक्ला कर्मचारी हुन् ।