नवलपुर, ७ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबास–त्रिवेणी सडक खण्ड निर्माणको काम छिट्टै अगाडी बढ्ने बताएका छन् । स्थलगत निरिक्षणमा अर्थमन्त्री, मुख्यसचिव र सांसदसहितको टोली लिएर गृहजिल्ला आएका मुख्यमन्त्री पोखरेलले युनेस्कोबाट सहमति आउन साथ बजेटको व्यवस्थापन गरेर सडक निर्माणको काम अगाडी बढ्ने बताएका हुन् ।
वातावरणीय प्रभाव मूल्याङ्कन र डीपीआर निर्माणको काम अगाडी बढिसकेको जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको गौरवका साथै लाईफलाईन मार्ग समेत भएकाले त्रिवेणी–दुम्किबास खण्ड सडक निर्माणमा बजेट अभाव नहुनेमा पनि विश्वस्त पारेका छन् ।
त्रिदेशीय सीधा सडक सम्वन्ध स्थापित हुने सडकको दक्षिणतर्फको नाका मुख्यमार्गमा जोडिने बाटो भएकै कारण पनि सडक निर्माणलाई युनेस्कोको सहमति आएलगत्तै छिटो छरितो कार्य अगाडी बढाइने उनको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेललाई विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने वडा नं. १ को दमैटाँडीदेखिवगुवन सम्म तिन किलोमिटर र चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने करिव ८ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको जानकारी गराएका थिए ।
उक्त अवसरमा पालिका उपाध्यक्ष मीनाकुमारी राना, वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले पालिकाका समस्याका बारेमा भनाइ राखेका थिए ।
अध्यक्ष जिसीबाट अवस्थाको जानकारी लिएका मुख्यमन्त्री पोखरेलले आफू यसै क्षेत्रबाट यसअघि पनि सांसदको प्रत्यासी भएकाले यसको बारेमा जानकार रहेको बताए । उनले हुलाकी सडकको बजेटबाट पनि सो खण्डको अधिकांश स्थानमा संघीय वजेट लगानी गर्न सकिने बताए ।
उनले सडक निर्माणले नवलपुर मात्र होइन समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने आशा व्यक्त गरे । प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको उनको भनाइ थियो । संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ गते मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको थियो ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमका लागि कुनै अभाव नहुने पनि बताए । उनले भने, ‘प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, संघ सरकारले पनि यसका लागि पर्याप्त बजेट छ भनेको छ, तपाईंहरु अब ढुक्क हुनुहोस ।’ उनले भने, ‘सुरुङ मार्ग वा फ्लाइ ओभर के बनाउने अध्ययनपछि टुंगो लाग्ने छ ।’ यो खर्चिलो भए पनि बहुवर्षेमा लगेर काम हुन्छ ।’
मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थ सचिव वैकुन्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गरेका हुन् । टोलीमा प्रदेश सभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला सहभागी थिए । मुख्यमन्त्री पोखरेलले उक्त पालिकाको दुम्कीवासमा निर्माण सम्मन्न भएको भानुदय नमुना माविको विज्ञान प्रयोगशाला भवनको शुक्रबार नै उद्घाटन गरेका छन् ।