९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

विश्वकप खेल्ने नेपालको सपना अधुरै


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७८ , मंगलबार

  • विश्वकप खेल्ने नेपालको सपना अधुरै

    काठमाडौं, १० फागुन – नेपालले ८ वर्षपछि आइसीसी टी-२० विश्वकप खेल्ने स्वर्णिम अवसर गुमाएको छ। ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएसँगै एक खेलमात्रै टाढा रहेको नेपाल विश्वकपमा छनोट हुन असफल भयो।

    १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा रोकियो। ग्लोबल छनोटमा समूहका तीन खेलमा अपराजित रहने एकमात्रै टोलीका रुपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। अर्कातर्फ बलिङ र फिल्डिङमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकाले यसपल्ट विश्वकपमा पुग्ने आशा बढेको थियो।

    तर आशाविपरित मंगलबार नेपाली बलरहरुले आशातित सुरुवात नै पाउन सकेनन। दोस्रो ओभरमै जितेन्द्र मुखियाले चिराग सुरी(४)लाई बोल्ड पार्दै आशा बढाएका थिए। तर त्यसपछि भारतीय मुलका यूएईका ब्रित्य आरभिन्दको आक्रामक ब्याटिङ सामु नेपाली बलर निरिह बने।

    उनले २३ बलमा ४६ रन हान्दा पाँचौ देखि आठौं ओभरमासम्म लगातार प्रत्येक ओभरमा एक चौका र एक छक्का हिर्काउँदै यूएईलाई अघि बढाए।

    आरभिन्दविरुद्ध कप्तान सन्दीप लामिछानेले जितेन्द्र, अभिनाश बोहरा र आरिफ सेखलाई प्रयोग गरे। यस्तै सातौं ओभमा आफैले बोल्ड पारे। त्यसबेलासम्म ८ ओभरमा यूएईले ७३ रन जोडिसकेको थियो।

    त्यसपछि बाँकी रन ओपनर मोहम्मद वासिमले जोडे। अविनाशले सत्रौं ओभरको पाँचौं बलमा उनलाई ७० रन आउट गर्नुअघि ढिलो भइसकेको थियो। त्यसपछि खेलमा फर्किएपनि यूएईले २० ओभरमा १७५ रन जोडिसकेको थियो।

    जवाफमा नेपाललाई सुरुमै दुई झट्का लाग्यो। आसिफ सेख(एलबीडब्लु) र लोकेश बमलाई पहिलो ओभरमै जुनिद सिद्दिकीले खाता नै खोल्न नदिई पवेलियन फर्काए। तिनै जुनिदले तेस्रो ओभरमा लयमा देखिएका कुशल भुर्तेल(७)लाई विकेटपिकर आरभिन्दको हातबाट क्याच गराएपछि नेपाल ब्याकफुटमा धकेलियो।

    चौथो विकेटका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले ३६ रनको साझेदारी गरेपछि केही आशा देखिएको थियो। तर आठौं ओभरको पहिलो बलमा आरिफको ब्याटको किनारा लाग्दै बल विकेटकिपर आरभिन्दको हातमा गएसँगै नेपाल फेरि दबाब आयो। आरिफले १२ बलमा एक चौकासहित ११ रनमात्रै जोड्नसके।

    क्रिजमा आएको पहिलो बलमै चौका प्रहार गर्दै पूर्वकप्तान तथा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले फेरि आशा दिलाए।  तर १३औं ओभरको चौथो र पाँचौं बलमा ज्ञानेन्द्रसँगै दीपेन्द्र विपक्षी कप्तान अहमद राजाले पवेलियन फर्काएसँगै नेपालको सम्भावना त्यही सकिएको थियो।

    ज्ञानेन्द्रले १६ बलमा एक चौका र एक छक्कासहित २० तथा दीपेन्द्रले ३८ बलमा तीन चौकासहित ३८ रन बनाए। त्यसपछिका कुनैपनि ब्याटिङ चलेन।

    विवेक यादवले ८, जितेन्द्र मुखियाले ५, कमल सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले ४-४ रनमात्रै जोड्न सके।

    पूर्वकप्तान विनोद दास विश्वकपमा नपुग्नु निराशाजनक क्षण भएपनि नतिजा स्वीकार्दै अघि बढ्नुको विकल्प नभएको बताउँछन्।

    ‘प्रतियोगितामा देखिएको लयलाई हामीले फाइनलमा निरन्तरता दिन सकेनौं। यहाँ पुगेपनि पनि विश्वकपमा छनोट नहुनु पक्कै निराशाजनक हो,’ दासले भने, ‘तरपनि हामी त्यसमा रोकिनु हुँदैन। विश्वकपमा पुगेनौं भनेपनि सबै सकिने होइन। यसले हामीलाई थोरै पछाडि चाँही धकेल्छ।’

    राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्वकप्तान उत्तम कर्माचार्य विश्वकपमा छनोट नहुँदा नेपाली क्रिकेट धेरै कुरामा पछाडि पर्ने बताए।

    ‘छनोट भएको भए ठूला प्रतियोगिताहरु खेल्न पाइन्थ्यो। वानडे स्टाटस लम्बिउन सकिन्थ्यो। आइसीसीको अनुदान बढ्थ्यो,’ उनले भने, ‘विश्वकपमा छनोट नहुनु भएको धेरै चिजमा पनि पछाडि पर्नु हो। यसले  अवसरहरु कम हुँदै जान्छन् र क्रिकेटको गति पनि सुस्त हुन्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend