पोखरा, ११ फागुन – कास्कीमा नेपाली कांग्रेस यत्तिकै कमजोर छ । गएको चुनावमा १३ हजार ७०२ मतले पछि पर्दै कांग्रेसले मेयर पद एमालेका मानबहादुर जिसीलाई सुम्पेको थियो । आउँदो वैशाख ३० गते फेरि मेयरको चुनाव घोषणा भएको छ ।
चुनाव घोषणासँगै एमालेले पहिला जितेका ठाउँमा फेरि कसरी जितिन्छ भन्ने रणनीति तय गरेको छ । एमालेले सोमबारमात्रै यसअघि पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीलाई चुनावको तयारीमा लाग्न निर्देशन दिँदै गण्डकी प्रदेशको प्रशिक्षण सम्पन्न गरेको छ । आउँदो चुनावमा को उम्मेदवार हुने भन्ने विषयमा एमाले बोलेको छैन ।
कास्की कांग्रेसले आउँदो चुनाव लक्षित गर्दै टोल समिति निर्माण त थालेको छ तर उसका कार्यक्रमहरु भद्रगोल र औपचारीकतामा सीमित भएका छन् । बरु, अघिल्लो चुनाव हारेको नेपाली कांग्रेसमा भने चुनाव घोषणासँगै उम्मेदवारी घोषणाको लहर सुरु भएको छ ।
सामाजिक सञ्जालमार्फत् नेताहरुले मेयरमा आकांक्षा देखाइरहेका छन् । आफूखुुसी मेयरमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेसँगै कांग्रेस पोखरा महानगरले मंगलबार विज्ञप्ति नै जारी गरेर ‘लगाम’ लगाउने प्रयत्न भने गरेको छ ।
महानगर कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोलाले मंगलबार विज्ञप्ति जारी गर्दै ‘नेपाली कांग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्ववारको अन्तिम टुंगो नलाग्दासम्म कसैले पनि नेपाली कांग्रेस पार्टीको नामसँग जोडेर कुनै पनि पदको लागि सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेदवारी घोषणा गर्न गराउन नगर्न नगराउनू’भन्दै अनुरोध गरेको छ ।