काठमाडौं, १२ फागुन – रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।
यसैबीच रुसले पूर्वी युक्रेनमा हवाई उडान निषेधित क्षेत्र घोषणा गरेको छ । यो निषेध कति समयका लागि हो भन्नेबारे भने रुसले केही बताएको छैन ।
युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्य बन्न खोजेको विषयमा आपत्ति जनाउँदै आएको रुसले यसै पूर्वी युक्रेनमा पृथकतावादी गतिविधि भएको दुई राज्यको मान्यता दिएको थियो । रुसी कदमबाट आक्रोशित भएका पश्चिमा देशहरूले नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् ।