काठमाडौं, १४ फागुन – युक्रेनको राजधानी सहर किभमा शनिबार बिहानैदेखि भीषण युद्ध भइरहेकाे छ। सीएनएनका अनुसार शुक्रबार रातिदेखि नै किभमा ठूलो विस्फाेट सुनिएको थियो।
शनिबार बिहान सबेरसम्म सुनिएका ठूलो विस्फाेटका आवाज स्थानीय समयानुसार बिहान ५ बजेपछि भने केही साम्य भएको थियो। विशेषगरी किभको पश्चिमी र दक्षिणी क्षेत्रमा उक्त विस्फाेट भएका हुन्।
तर पौने ६ बजेबाट किभमा पुनः गोलीबारी सुरु भएको छ। दक्षिणपूर्वी क्षेत्रबाट ठूलो गोलीबारीको आवाज सुनिएको समाचारमा उल्लेख छ।
यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ सहरका मेयरले अहिले सहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन्।
युक्रेनको संसदको च्यानलसँगको कुराकानीमा मेयर नातालिया बालासिनोभिकले भनिन्, ‘सहर पूरै युद्धमय बनेको छ।’
उनले युद्धको क्रममा दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गरेकी छिन्। उनले युक्रेनको सेनाका २ सयभन्दा धेरै सैनिक घाइते भएको उल्लेख गरेकी छिन्।