पोखरा, १४ फागुन – शुक्रवार नेकपा एमालेले ठूलै तामजामका साथ पोखराका हस्तीहरुलाई पार्टीमा प्रवेश गराएको छ । एमाले अध्यक्ष केपी ओलीलगायतका केन्द्रिय नेताहरुले नवप्रवेशीहरुलाई टीका अविर र खादा लगाएर स्वागत गरे ।
एमाले प्रवेश गर्नेहरुमा सवैभन्दा वढि जनता समाजवादी पार्टीका छन् । जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गर्नेहरुमा स्थायी समितिका सदस्य तथा गण्डकी इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष दीपक तामाङ, उपाध्यक्ष काशीमाया गुरुङ र किसान विश्वकर्मा, गण्डकी प्रदेश सदस्यहरु खड्गबहादुर गुरुङ, लक्ष्मण गुरुङ,लेखनाथ नगरपालिकाका पूर्व उपमेयर गोपालमान गुरुङ रहेका छन् ।
एमालेमा प्रवेश गर्नेहरुमा नेपाली काग्रेसको भातृ संगठन तरुण दल पोखरा-१८ का उपसभापति शंकरजंग थापा, ट्रेड युनियन कांग्रेसका नवराज बिजुक्छे लगायत छन् । माओवादी केन्द्रबाट पोखरा-७ का पूर्व अध्यक्ष सूर्यबहादुर कार्की, माछापुच्छ्रे्रे गाउँ समितिका पूर्व गाउँपालिका अध्यक्ष टेकनाथ गौतम ९पीडित०, प्रदेश समिति सचिवालय सदस्य राजु पराजुली लगायत छन् ।
नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गर्नेहरुमा कास्की जिल्ला सचिवालय सदस्य पोखरा-१७ का चित्र बराल, कमल बराल, दिव्यकुमार बराल, तोरण लोहार लगायत पनि एमालेमा प्रवेश गरे । राप्रपाका नेता एवं पोखराका पूर्व मेयर भीमसेन थापा लगायत पनि एमालेमा प्रवेश गरेका छन् । सामाजिक व्यक्तित्व डा. सुधीर पराजुली लगायत करिव १ हजार १ सय जना शुक्रवार एमालेमा प्रवेश गरेको एमाले गण्डकीले जनाएको छ ।