बागलुङ, १५ फागुन– धौलागिरि अस्पालमा आफ्नै शववाहनबाट शव ओसार्ने व्यवस्था सुरु भएको छ । अस्पतालमा शव बाहन नभएपछि अन्य सवारी साधन खोज्दा धेरै महंगो हुने, भनेको समयमा नपाइने समस्या थियो ।
बागलुङ नगरपालिकाले १२ लाख लगानी गरेपछि अस्पताले २ लाख थप लगानी गरी १४ लाख रुपैयाँको लागतमा बाहन खरिद गरिएको हो ।
शनिबार बिहान आयोजित कार्यक्रममा नगरप्रुमख जनकराज पौडेलले अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद शर्मा र मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेललाई शवबाहनको चाबी हस्तान्तरण गरेका थिए ।
डा. पोखरेलले आफ्नै वाहन अभावमा धेरै समस्या भोग्नुपरेको देखेपछि नगरपालिकाले साथ दिने वचन दिएअनुसार वाहन खरिद गरिएको बताए । ‘कोभिडको समयमा बढी समस्या भयो, आफ्नो शवबाहन नभएर भाडाका गाडि खोज्दा पीडितले पाएनन्, अब सहज हुने भयो’, पौडेलले भने, ‘अस्थायी रुपमा केही समय नगरपालिकाले पिकअप खोजेर व्यवस्थापन गरेका थियौं ।’
गतवर्ष चार लाख ५० हजार खर्चेर झण्डै ६ महिनासम्म नगरपालिकाले शवबाहन चलाएको थियो । कोभिडको डेल्टा भेरिएन्टको समयमा बागलुङमा धेरै मानिसको मृत्यु भएको थियो । उक्त समयमा शवबाहन अभावमा मृतकका परिवारले धेरै सास्ती खेपेका थिए ।
नगरपालिकाले दिएको अस्थायी शवबाहनबाट धेरैनै सहयोग भएपनि आफ्नै बनाउने अभियान बल्ल पुरा भएको अस्पतालका पूर्वअध्यक्ष केवी रानामगरले बताए । अस्पतालमा आएको सुधारसँगै आफ्नै एम्बुलेन्ससमेत चाहिन्छ । शवबाहन पनि चाहिन्छ । त्यो प्रक्रियामा नगरपालिकाले सहयोग गरेकोमा उनले धन्यवाद दिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष शर्माले पनि व्यवस्थित र चुस्त अस्पतालका लागि संयम भएर काम गर्ने बताए । अत्यावश्यक सामग्री, उपकरण र सवारीबिना धेरै काम रोकिने गरेको भन्दै शवबाहनले धेरै साथ मिलेको बताए ।
तत्कालका लागि नगरपालिकाले चालक समेत व्यवस्थापन गरिदिएको छ । अस्पतालले कार्यविधि बनाएर तत्कालै शवबाहन चलाउने योजना बनाएको मेसु पोखरलेलले बताए ।
यसअघि अष्ट्रेलियामा बस्ने युवाले रकम संकलन गरेर अस्पतालको लागि एम्बुलेन्स किन्न पठाएको पैसा पनि अलपत्र छ । यो पैसाबाट एम्बुलेन्स किन्नका लागि पनि पहल गरिने बताइएको छ । उनीहरुले पठाएको २८ लाख ५० हजारमा सरकारले तोकेको मापदण्डको एम्बुलेन्स नआएपछि पैसा फिर्ता भएको थियो ।
स्वास्थ्य मन्त्रालयले पनि खरिद नगरेको र आवश्यक परेकोले कार्यविधिमा पर्ने गरी केही रकम अन्य निकायबाट थप गरेर एम्बुलेन्स किन्ने तयारीसमेत भएको अस्पतालका मेसु पोखरेलले जानकारी दिए ।