काठमाडौं, १५ फागुन – नाबालिका बलात्कारको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)ले प्रहरी सामु आफै उपस्थित हुने बताएका छन् । उनले आइतबार फेसबुक स्टाटस मार्फत यस्तो बताएका हुन् । उनी विरुद्ध १७ वर्षीया कलाकारलाई जबरजस्ती करण गरेको जाहेरी फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा परेको थियो ।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनुपरेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।
साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ । ‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन् ।
पूजाले भनिन् ‘सम्मान छ रियल हिरो’

पलको आत्मसमर्पण गर्ने निर्णयलाई अभिनेत्री पूजा शर्माले सम्मान भनेकी छन् । पूजाले सामाजिक संजालमा पलले सार्वजनिक गरेको आत्मसमर्पण गर्ने स्टाटस पोष्ट गर्दै लेखेकी छन् , ‘सम्मान छ रियल हिरोलाई । सत्यको जित अवश्य हुनेछ ।’
पल र पूजा अभिनित फिल्म ‘म यस्तो गित गाउँछु २’ देशभर शुक्रबारबाट प्रदर्शन भइरहेको छ । पूजा पछिल्लो समय पलको तस्बिर अंकित टिसर्ट लगाएर सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन् ।