८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

चार छोराछोरीसहित कर्णालीमा हाम फाल्ने सुकीका श्रीमानलाई डेढ वर्ष कैद


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७८ , बुधबार

  • चार छोराछोरीसहित कर्णालीमा हाम फाल्ने सुकीका श्रीमानलाई डेढ वर्ष कैद
    ०७७ फागुन २३ गते सुकी वडुवालले चार छोराछोरीसहित कर्णालीमा हाम फालेपछि खोजी गर्न कर्णाली नदी किनारमा जम्मा भएका स्थानीय। तस्विर : हिक्मतबहादुर नेपाली

    दैलेख, १८ फागुन – चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकी सुकी बडुवालका श्रीमानलाई डेढ वर्ष कैद सजाय तोकिएको छ। २०७७ फागुन २३ गते आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षिया सुकीले आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान ३८ वर्षिया मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैंयाँ जरिवाना गरेको हो।

    मुलुकी अपराधसहिंता ऐन २०७४ बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट कसूरदारलाई उक्त सजाय भएको दैलेख जिलला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले बताए। कर्णाली नदीमा सुकी बडुवाल, उनका छोरीहरु १५ वर्षिया कल्पना बडुवाल, १२ वर्षिया सरिता बडुवाल, ७ वर्षिया रजनी बडुवाल र १० वर्षिया छोरा ललित बडुवाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै ०७७ चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी परेको थियो।

    सुकीका भाई आठबीस नगरपालिका-३ निमायलका बजीरसिंह थापाले दिएको जाहेरीमा पारिवारिक विवादका कारण सुकीले चारै सन्तानलाई लिएर कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको उल्लेख छ। सुकी र चार छोराछोरीसमेतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दिइएको जाहेरीको आधारमा प्रहरीले २०७७ चैत १२ गते प्रहरीले सुकीका श्रीमान मानसिंह बडुवाललाई पक्राउ गरेको थियो।

    सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात २०७७ फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षिया कल्पना र १२ वर्षिया सरिताको शव नदीमा फेला परेको थियो। त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षिया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो। कान्छी छोरी रजनीको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका-३ स्थित कर्णाली नदी किनारमा भेटिएको थियो।

    अछामको भू-भागमा शव फेला परेको कारण मङ्गगलसेन अस्पतालमा शव परीक्षण गरिएको थियो। यद्धपी मृतकहरु दैलेखका बासिन्दा भएको कारण जिल्ला प्रहरी कार्यालय दैलेखमा मुद्दा चलाइएको थियो। घटनाका सम्वन्धमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयमार्फत २०७७ चैत २९ गते दैलेख जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको थियो।

    मुद्दा दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसूरदारलाई पूर्पक्षका लागि थुनामा दैलेख कारागार पठाईएको थियो। जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले कानुनमा तोकिए अनुसार पाँच वर्ष कैद र ५० हजार जरिवानाको सजायको मागदाबी गरेका थिए।

    दैलेख जिल्ला अदालतका वैतनिक वकील टेकबहादुर केसीले परिवारका सबैलाई आत्महत्या गर्न वाध्य पारेको नभई आमा सुकीको मनोगत उत्तेजनामा पाँच जनाको ज्यान गएको भन्दै कसूरदारलाई न्यूनतम् सजायको हुनुपर्ने जिकिर गरेका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend