९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
'एमसीसी देशको लागि आवश्यक'

गगन थापाले पोखरा आएर भने, अव चेतनाको राजनीति रोज्ने कि उत्तेजनाको ?


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७८ , शुक्रबार

  • गगन थापाले पोखरा आएर भने, अव चेतनाको राजनीति रोज्ने कि उत्तेजनाको ?
    Photo: Naresh Shrestha/ THT

    पोखरा, २० फागुन – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद खुलाउने सर्तमा समय अगावै संघीय चुनावको घोषणा हुनसक्ने संकेत गरेका छन् । उनले स्थानीय चुनाव भने आउँदो वैशाख ३० गते नै हुने ठोकुवा गरे ।

    ‘संसदको चुनाव मंसिरमा हुन पनि सक्छ, त्यो भन्दा अगाडि हुन पनि सक्छ’, पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘अदालत अवरुद्ध थियो, हामीले प्रधानन्याधीशलाई अदालत सुचारु गर्न आग्रह ग¥यौँ, उहाँले मान्नु भएन,टेर्नु भएन,गर्न सक्नुभएन, हामीले महाभियोग लगाएर अदालत सुचारु ग¥यौँ, अहिले संसद अवरुद्ध छ, हामी संसद खुलाउन चाहन्छौँ’, संसदको अवरोध खुलाउन सकिएन भने विभिन्न विकल्पबारे छलफलमा छौँ,हामी सोच्छौँ ।’

    उनले संसद सुचारु गर्ने दायित्व नेपाली कांग्रेसकै भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा आफै पटक-पटक एमाले अध्यक्षको घरमा जानु परेको जिकिर गरे । ‘हामीले दुई हात जोडेर अनुरोध गरेका छौँ । ‘हामीले जिम्मा लिएका छौँ हामी गएका छौँ, ढोका ढक्ढक्याएका छौँ । हामीले भनेका छौँ , संसद खुलाउन हामी तपाईंको सहयोग चाहन्छौँ । अल्झाएर राख्ने हैन, भएन भने विकल्पबारे कुरा हुन्छ ’, उनले भने ।

    उनले संसदको विघटन ठीक थियो थिएन भन्ने कुराको फैसला गर्ने जनताले नै गर्छन् र सदन खुलाउन सहयोग गर्नुहोस् भन्दै एमालेलाई आग्रह गरिएको पनि जानकारी दिए । स्थानीय चुनावको मिति तलमाथि नहुने बताउँदै गर्दा उनले कोही कतै कसै नेताको अन्तर्वार्ता सुनेर, नेताको कुरा सुनेर,पत्रपत्रिकाको विष्लेषण सुनेर नअल्मलिन कार्यकर्तालाई आग्रह पनि गरे । ‘स्थानीय चुनाव तलमाथि हुँदैन किनकि कांग्रेसले जिम्मा लिएको छ । हामी स्थानीय चुनाव गराउँछौँ’, उनले भने, ‘त्यसपछि आम चुनाव गराउँछौँ र धमिलिएको राजनीतिलाई सुधार्छौँ ।’

    उनले कार्यकर्तालाई यो पटक जनताको बीचमा जाँदा तपाई चेतनाको राजनीतिको पक्षमा हो कि उत्तेजनाको राजनीतिको पक्षमा हो ? भन्ने प्रश्न लिएर जान निर्देशन दिए । उनले अहिलेको सत्ता गठबन्धन आवश्यकताले बनेको र यसको काम चुनाव गराउनेमात्रै भएको पनि बताए ।

    गठबन्धन चुनावसम्म हुने कि नहुने भन्ने विषय फरक भएको उनको भनाइ थियो । २०५६ सालमा एमाले र कांग्रेसबीच गठबन्धन सरकार बनेको र एक्लै चुनावमा गएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘चुनावमा मिल्छौँ कि मिल्दैनौँ त्यो अर्कैै कुरा हो ।’

    उनले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँग गठबन्धन हुन्छ-हुँदैन भन्नेबारे केही नबोल्न तर जनतासँग आफ्नो पहिचान फरक छ है भन्न पनि निर्देशन थिए । अहिले कांग्रेसलाई प्रत्येक सयमा ३२-३३ जनाले कांग्रेसलाई मत हाल्ने गरेको र त्यो बढाएर ४२÷४५ नबनाउँदासम्म कसैसँग सहकार्य गर्नुपर्ने बाध्यता रहने एवं त्यो चुनाव पछि वा अगाडि हुनसक्ने उनको भनाइ थियो ।

    उनले कांग्रेस मिलाउने पार्टी भएकाले मिलाउने पार्टीलाई छान्न जनतासँग आह्वान गरिनुपर्नेमा जोड दिए । एमसीसी प्रकरणबारे बोल्दै उनले जाजरकोटमा हैजाको महामारी फैलँदा त्यहाँका स्थानीय नेताको अभिव्यक्तिको स्मरण गरे कम्युनिष्टहरुले उत्तेजना र भ्रमको राजनीति गर्ने गरेको आरोप लगाए ।

    उनले ती माओवादी नेताले बीबीसीलाई दिएको अन्तर्वार्ता सम्झँदै भने, महामारीबारे गरिएको प्रश्नमा ती नेताको उत्तर थियो– अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद अन्त्य हुन नसक्दासम्म हैजा परास्त हुन सक्दैन । त्यहाँको मान्छेलाई त्यस्तो सिकाइएको रहेछ ।, मैले माओवादी नेतालाई भनेँ –त्यस्तो दुर्गमा ठाउँमा गएर त्यस्तो सिकाउनु भएको रहेछ । बढो आत्मविश्वासका साथ भन्छ फेरि । त्यहाँको मान्छेलाई पानी उमालेर पिउनुपर्छ ,हात धुनुपर्छ, सफा हुनुपर्छ भनेको भए हैजा लाग्दैनथ्यो होेला । चेतनाको राजनीति र उत्तेजनाको राजनीतिको यो एउटा प्रमाण हो ।’

    अहिले एमसीसीको प्रकरणसम्म त्यो हैजा प्रकरण एकै भएकोमा जोड दिँदै कांग्रेस महामन्त्री थापाले अगाडि भने,‘ संसदमा आएर यो (एमसीसी) पास गर्ने राष्ट्रघाती हुन् भन्ने र भारत र अमेरिका परास्त नभइ हैजा मर्दैन भन्ने एउटै हुन् । चरित्र एउटै हो । यो उत्तेजनाको राजनीति हो । यहाँ उत्तेजनाको राजनीतिको दोकान चल्यो । दोकान चलेपछि त चलेको चल्यै छ ।’

    एमसीसी ल्याउन नेपालको तर्फबाट गरिएको लामो प्रक्रियाबारे चर्चा गर्दै उनले अहिलेको विरोध नबुझेर गरिएको नभएको बताए । उनले एमसीसी देशको लागि आवश्यक छ भन्ने विषयमा लामो व्याख्या समेत दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend