पोखरा, २४ फागुन – मन्त्रीहरुमा शिलान्यास, उद्घाटनका कति भोका छन् त्यसको उदाहरण गण्डकीमा हेरे पुग्छ । ‘मन्त्रीद्वारा पर्खाल शिलान्यास !’ सुन्दै अचम्म लाग्न सक्छ । तर, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले सोमबारमात्रै पोखरामा पर्खाल शिलान्यास गरेका छन् ।
मन्त्री थापाले पोखरा १८, जामुनबोटमा बन्न लागेको पोखरा सूचना, प्रविधि (आइटी) पार्कको पर्खाल शिलान्यास गरेका हुन् । उक्त पर्खालमात्रै जेठ १५ सम्म सक्ने गरी शेपा/आशिष एन्ड अनिष जेभी कन्स्ट्रक्सन, भ्याटसहित ९४ लाख रुपैयाँमा सम्झौता गरेको मन्त्रालयका सूचना अधिकारी खुबीराम पौडेलले जानकारी दिए । ‘अहिले पार्कको बाउन्डरी लेयर पर्खालका मात्रै लागि शिलान्यास भएको हो,’ उनले भने ।
पर्खालको शिलान्यास भए पनि ९६ रोपनी क्षेत्रफलमा बन्ने आइटी पार्कको भने डिपिआर भने तयार भएको छैन । सूचना अधिकारी पौडेलले डिपिआरका लागि तयारी प्रक्रिया सुरु भइसकेको र चाँडै फाइनल गरेर सूचना प्रकाशित गरिने जानकारी दिए । पार्कको पर्खाल बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
शिलान्यास पश्चात मन्त्री थापाले पार्क गण्डकी प्रदेशस्तरीय गौरवको आयोजनालाई सफल बनाउन पहिलो चरणको काम अघि बढेको दाबी गरे । ‘प्रा्ेजेक्टलाई सफल बनाउन पहिलो चरणमा कम्पाउन्ड वालले घेरेर जग्गालाई सुरक्षित गराउँछौं,’ उनले भने । दोस्रो चरणका लागि पार्कको डिपिआर प्रक्रिया अघि बढिसकेको उनको भनाइ थियो ।
पार्कका लागि तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही योजनाबमोजिम २०७६ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संघीय सरकारसँग जग्गा माग गरेको थियो । प्रदेश सरकारको जग्गमा माग पछि ०७७ पुसमा संघीय सरकारले प्रदेश सरकारलाई भोगाधिकारसहित ९६ रोपनी १३ आना २ दाम जग्गा दिने निर्णय गरेको थियो ।
मन्त्री थापाले पार्कको पर्खाल निर्माण भएसँगै पार्कको कामसमेत चाँडै सुरु हुने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा बहुवर्षीय बजेट अन्तर्गत राखेर रकम विनियोजन गरिने योजना सुनाए । ‘‘डिपिआरको प्रक्रिया पनि अगाडि बढिसकेको छ । डिपिआरअनुसार संरचना बढाउन आगामी बजेटबाट रकम विनियोजन गरेर अगाडि बढ्ने छौं,’ उनले भने, ‘अबको बजेटमा बहुवर्षीय बनाउने र नयाँ बजेटमा राखिने छ ।’
सूचना प्रविधि निमौण र सञ्चालन गरी गण्डकीलाई डिजिटलाइजेन गर्ने र प्रदेशलाई अन्तर्राष्ट्रियस्तरसँग जोड्ने गरी आइटी पार्कको परिकल्पना गरिएको मन्त्रालयका सचिव धर्मराज कुइँकेल भनाइ छ । ‘पार्क भन्ने वित्तिक्कै हरिल्लने टहल्लिने भन्न्ने छ । सूचना प्रविधि पार्क त्यसो हुँदैन । सूचना प्रविधिका ठूलाठूला कार्यक्रम गर्न, गण्डकी विश्वविद्यालयको आइटी गढ यहाँ हुन्छ भन्ने हिसाबले यहाँ बनाउन लागिएको हो,’ उनले भने ।