९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
आगलागीले बर्सेनि ठूलो क्षति, १० महिनामा ८१ जनाको ज्यान गयो

‘जनघनत्व बढी भएका क्षेत्रमा आगलागीका घटना धेरै’


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७८ , बिहिबार

  • ‘जनघनत्व बढी भएका क्षेत्रमा आगलागीका घटना धेरै’

    काठमाडौं, २६ फागुन – गत १ वैशाखदेखि २४ फागुनसम्म मुलुकका २ हजार ६३  स्थानमा आगलागी भएको छ। यी घटनामा ८१ जनाको ज्यान गएको छ। ३ सय ५० जना घाइते भएका छन्। २ हजार ४ सय २८ घरपरिवार प्रभावित भएका छन्। २३ फागुनमा एकै दिन ११ जिल्लामा आगलागी भयो। आगो निभाउन सेना, प्रहरी, स्थानीयवासी खटिए।  दमकलको सहयोग लिइयो। कतिपय ठाउँमा हेलिकप्टर प्रयोग गरिएको छ।

    गर्मी मौसममा बढी पिरोल्ने विपद् हो, आगलागी। यस्ता घटनाबाट भौतिक मात्रै होइन, मानवीय क्षतिसमेत हुने गरेको छ। पछिल्लो पाँच वर्षमा १४ अर्ब रुपैयाँबराबरको क्षति भएको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। यही अवधिमा ४ सय ७ जनाले ज्यान गुमाएका छन्।

    डढेलोले बर्सेनि नयाँ-नयाँ ठाउँलाई खरानी पार्ने गरेको छ। भौगोलिक रूपमा चुरे, तराई र मध्यपहाडी क्षेत्र सबैभन्दा बढी डढेलो लाग्ने क्षेत्रमा पर्छन्। चैत–वैशाखमा सबैभन्दा धेरै डढेलो लाग्छ। चुरे विज्ञ डा. विजय सिंहका अनुसार मध्यपहाडीभन्दा चुरे र तराईमा बढी डढेलो लाग्छ। कतिपयले चोरीसिकारीका साथै नयाँ घाँस उम्रिने र वन अतिक्रमणका लागि पनि आगो लगाउने गरेको डा. सिंह बताउँछन्।

    ‘चुरे क्षेत्रमा बसोबास र चरिचरन बढेको छ। त्यसले गर्दा पनि डढेलो बढी लाग्ने  गरेको छ’, उनी भन्छन्। सन् २०१६ मा सबैभन्दा बढी डढेलो लागेको पाइएको छ। उक्त वर्ष ३१४ पालिका प्रभावित भएका थिए।

    प्राधिकरणका प्रवक्ता  डा.  डिजन भट्टराईका अनुसार  प्रदेशगत रूपमा प्रदेश १ र मधेसमा बढी घटना भएका छन्। ‘जनघनत्व बढी भएका क्षेत्रमा आगलागीका घटना धेरै भएका छन्’, प्रवक्ता डा. भट्टराई भन्छन्।

    प्रहरी र स्थानीय प्रशासनमार्फत आगलागीका घटनाको पञ्जीकरण हुने गरेको छ। त्यसअनुसार डढेलो र आगलागीका घटना चिन्ताजनक देखिएको छ। ‘जंगलमा घाँस उम्रने, जंगलको पातपतिंगर सहितको पानी बगेर खेतबारीमा मलिलो हुन्छ भनेर पनि डढेलो लगाउने गरेको पाइन्छ’, डा. भट्टराई भन्छन्, ‘आगोका स्रोतहरू ननिभाई त्यसै फालिदिनाले जंगलमा फैलन्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend