९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सवै पार्टीले एउटै मञ्चबाट मत माग्ने अवस्था सिर्जना गरौं : अध्यक्ष तिमिल्सिना


जनमञ्च संवाददाता
  • ३० फाल्गुन २०७८ , सोमबार

  • सवै पार्टीले एउटै मञ्चबाट मत माग्ने अवस्था सिर्जना गरौं : अध्यक्ष तिमिल्सिना

    बागलुङ, ३० फागुन – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनको समयमा दलहरुले गर्ने कार्यक्रमा हुने खर्च कम गर्न र विकासका काममा साझा धारणा बनाउनका लागि सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।

    निर्वाचनको समयमा मात्रै दलहरु सक्रिय हुने गरेको भन्दै उनले सधैं जनता र विकासका लागि काम गर्ने हो भने निर्वाचन केन्द्रित कार्यक्रम आवश्यक नरहेको बताए । ‘विकास गरौं, जनताको पक्षमा काम गरौं, जनताले हाम्रा काम हेरेर मत दिन्छन्’ अध्यक्ष तिमिल्सिनाले भने ‘मतदानको अघिल्लो दिन चामलका बोरा बाँडेर जितेका जनप्रतिनिधिले काम गर्न सक्दैनन् ।’ बागलुङमा सोमारदेखि सुरु भएको बृहत स्वास्थय शिविरको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणको सन्दर्भमा सबै राजनीतिक दलहरुको एउटै धारणा हुनुपर्नेमा जोड दिए ।

    ‘आज जितेको दलले राम्रो काम गरे भोलि पनि चुनाव जित्छ भनेर खुट्टा तान्ने प्रबृत्ति छ’ उनले भने ‘यो गलत प्रबृत्तिबिरुद्ध लागौं, नराम्रो मध्येको राम्रो दल छान्ने होईन राम्रो मध्येको राम्रो दल छान्ने वातावरण बनाऔं ।’ निर्वाचनको समयमा हुने झैझगडालाई लक्षित गर्दै उनले मतदाताको टाउको फुटाएर उसैसँग मत माग्ने नैतिकता राजनीतिक दलहरुसँग नहुने जिकिर गरे ।

    अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताए । ‘कोरोनाले हाम्रो स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्न ठुलो सहयोग गर्यो, आवश्यकताको पहिचान भयो, अहिले यो क्षेत्र सुध्रिएको छ’ उनले भने ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकको तलवमानमा समस्या छ, शहर र गाउँ छुट्टयाएर काम गर्नेलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले नागरिकको स्वास्थ्य सुधारका लागि पहिले वातावरण सुधार गर्नसके अस्पतालको खाँचो नहुने धारणा राखे ।

    कार्यक्रम प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले चिकित्सकहरुको तलवमान कम भएकै कारण ठुला शहर बाहिरका अस्पतालहरुले चिकित्सक अभाव भोगिरहेको बताए । ‘५०÷६० लाख खर्चेको चिकित्सकले पाउने तलव निकै कम छ, पढ्दा हुने खर्चको व्याजसमेत नउठ्ने तलब खाएर उनीहरुले कसरी काम गर्न सक्छन्’ पाठकले भने ‘गाउँका अस्पताल बलियो बनाउने हो भने तलबभत्ता बढाउनै पर्छ, सरकारको ध्यान जाओस् ।’

    कार्यक्रममा लुम्बिनी फाउण्डेसनका संस्थापक उपाध्यक्ष गोबिन्द सुवेदी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, नेपाली कांग्रेसका जगन्नाथ आचार्य, अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष एकराज गिरी, पत्रकार महासंघका सचिव विजय राना, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।

    बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको अध्यक्षता, धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलको स्वागत र बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ९ जना विदेशीसहित नेपाली चिकित्सक र स्वास्थकर्मी सहभागि शिविरमा स्त्री रोग सम्बन्धि विविध जाँच तथा उपचार हुने खनालले बताए । चैत २ गतेसम्म सञ्चालन हुने शिविरमा ५ सय बिरामीले जाँच गर्ने लक्ष छ । २५ जनाको पाठेघरको शल्यक्रिया गर्ने लक्ष रहेको खनालले बताए ।

    शिविरमा स्पेनका चिकित्सकहरुले अत्याधुनीक मेसिनहरुको सहायतामा जाँच र उपचार गर्ने छन् । बागलुङ नगरपालिकाले लुम्बिनी फाउण्डेसन र अन्तराष्ट्रिय बागलुङ समाजसँग सहकार्य गरेर शिविर आयोजना गरेको छ । उपचार र जाँच सबै निशुल्क हुने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend