पोखरा, ३० फागुन – तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैरकानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्व मुद्दा दायर भएको छ । तीमध्येका ३ प्रतिवादीहरुको मृत्यु भइसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै २० जनाविरुद्ध आरोप पत्र दायर गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले साविक ढोरफिर्दीमा रहेको सरकारी जग्गालाई घरसारको कागजातहरू बनाई गैरकानुनी रूपमा भोगचलन गर्ने, गराउने गरेको, बिक्री भएका जग्गामा पनि घरसमेतका संरचना बनाएको खुलेपछि अख्तियारले समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव ९प्रधानाध्यापक० यामबहादुर ठकुरी, सदस्यहरु घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले एक लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको दाबी गरेको छ ।
अख्तियारले प्रतिवादीमध्ये घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतविरुद्व एक लाख उनान्सत्तरी हजार एकाउन्न रुपैयाँ बिगो कायम गरी सजाय माग दाबी गरेको छ ।
त्यस्तै, प्रतिवादीमध्ये मृत्यु भइसकेका यामबहादुर बानियाँ, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँबाट समेत बिगो भराउन माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारले विद्यालयको जग्गा खरिद गरी उपभोग गर्ने सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक र धनबहादुर विकलाई समेत कसुरको मतियारको रुपमा कार्य गरेको भन्दै उनीहरूबाट भोग हटाई जग्गा जफत गर्नुपर्ने माग दाबी गरेको छ । तीमध्ये प्रतिवादीहरु लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको भने मृत्यु भइसकेको छ ।