काठमाडौं, ४ चैत – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तरव्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जाने भएका छन्। अध्यक्ष तिमिल्सिना अन्तरव्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसद्को आयोजनामा आजदेखि १० गतेसम्म हुन लागेको अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन आज बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन्।
तिमिल्सिनाको नेतृत्वमा नाै सदस्यीय प्रतिनिधिमण्डल आज बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरू भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरू सुरेन्द्रकुमार कार्की, उमाशंकर अरगरिया हुनेछन्।
त्यस्तै, संघीय संसद्का महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रिय सभा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधिमण्डलमा रहने सचिवालयले जानकारी दिएको छ। सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टु जिरो : मोबिलाइजिङ पार्लियामेन्ट्स टु एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा राख्नेछन्।
सम्मेलनको विशेष सत्रमा उनले कोभिड–-१९ महामारीको वेलामा नेपालको संसदले गरेका गतिविधिहरूको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन्। अध्यक्ष तिमिल्सिनाले गभर्निङ काउन्सिलको २०९औँ सत्रमा पनि भाग लिने कार्यक्रम छ। सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत ११ गते शुक्रबार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद् सचिवालयले जनाएको छ।