८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

नेपालमा वाम नै छैनन्, के का लागि वाम एकता : अध्यक्ष ओलि


जनमञ्च संवाददाता
  • ७ चैत्र २०७८ , सोमबार

  • नेपालमा वाम नै छैनन्, के का लागि वाम एकता : अध्यक्ष ओलि

    काठमाडौं, ७ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै अन्य वाम घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। सोमबार बसेको पार्टी पोलिटब्युरो बैठकमा बोलेका २१ जना नेताहरुलाई जवाफ दिने क्रममा ओलीले अहिलेको अवस्थामा पुष्पकमल दाहाल  प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता हुनै नसक्ने बताएका छन्।

    कार्की पार्टी प्यालेस बबरमहलमा बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र रघुजी पन्तसहितले फेरि वाम एकता प्रयास अघि बढाउनुपर्ने बताउँदै त्यसका लागि ओलीले पहलकदमी लिनुपर्ने सुझाएका थिए।

    आगामी स्थानीय तह निर्वाचनका लागि रणनीति बनाउन बसेको यो बैठकमा भुसालसँगै पन्तले पनि वाम एकताको पक्षमा आफ्ना कुरा राखेका थिए। उनीहरुले आगामी स्थानीय निर्वाचनमा वाम गठबन्धन या तालमेलको उपायबाट अघि बढेर एकतासम्म पुग्न सकिने कुरा बैठकमा राखेका थिए।

    केही समययता एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक बहसमा ल्याएको दुई दलीय शासन व्यवस्था र वृहत् वाम एकताबारे बैठकमा कुरा राखेका नेताहरुले विभिन्न सुझाव राखेपछि ओलीले जवाफ दिएका थिए।

    ‘देशमा वृहत् वाम एकताको आवश्यकता छ। वामपन्थीहरु मिलेर जानु राम्रो हुन्छ। अहिलेलाई एकता सम्भव नभए पनि आगामी चुनावमा तालमेल या गठबन्धनबाट अघि बढ्न सकिन्छ,’ भुसालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसको प्रस्थानविन्दु आगामी निर्वाचन हुनसक्छ। वामपन्थी दलहरूबीच सहकार्य बढाउँदै गएर एकतासम्म पुर्‍याउन अध्यक्ष कमरेडले पहलकदमी लिँदा राम्रो हुन्छ।’

    भुसाल र पन्तले आगामी चुनावमा गठबन्धन र वाम तालमेल गर्दै एमालेले पार्टी एकताको ढोका खुला गर्नुपर्ने बताएका थिए। उनीहरुले वाम एकता गर्नुपर्ने प्रस्ताव राखेपछि अध्यक्ष ओलीले त्यो कुरा सम्भव नभएको बताएका हुन्।

    ‘वाम एकताका लागि एमालेले ढोका खुला राख्नलाई प्रचण्ड र माधव नेपालले त्यो धरातल राख्नुभएको छैन। चित्रबहादुर केसीको पार्टीले त एमालेसँग एकता नगर्ने निर्णय नै लिएको छ’, अध्यक्ष ओलीले बैठकमा भने।

    एकजना पोलिटब्युरो सदस्यका अनुसार बैठकमा अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल पार्टीको झ्यालढोका फोडेर, सिसा तोडेर गइसकेको भन्दै आक्रोश पोखे। ‘पार्टीको झ्याल ढोका फोडेर सिसा तोडेर जानेहरूलाई अब हामी चुकुल खोल्दैनौँ’, उनले भने, ‘नेपालमा वाम नै छैनन्, किन एकता, के का लागि वाम एकता ?’

    उनले प्रचण्ड र माधव नेपालले माफी मागेर आएमा मात्रै एकता सम्भव हुने पनि बताएका छन्। ‘प्रचण्ड र माधव नेपाल झ्याल ढोका फोडेर पार्टीबाट गएका हुन्। त्यसरी गएकालाई एकताको ढोका खुला राख्नुको के अर्थ हुन्छ?’, उनले भने, ‘ममाथि १९ बुँदे आरोपपत्र दर्ता गराएर, अध्यक्षबाट कारवाही गरेर, कांग्रेसलाई सत्ता बुझाएर, न्यायालयमा सेटिङ गरेर परमादेशबाट सरकार बनाउनेलाई फेरि ढोका खोल्नु? अब यो सम्भव कुरा भएन।’

    अध्यक्ष ओलीले बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि पनि आक्रोश पोखे। उनले निर्वाचन आयोग पनि सत्ता गठबन्धनसँग मिलेको भन्दै आपत्ति जनाएका छन्। ‘हामीले कारबाही गरेका १४ सांसदको सूचना नटाँसेर प्रचण्ड, माधव नेपाल र सभामुख अग्नि सापकोटा मिलेर संविधान मिचे’, उनले भने, ‘नाम मात्रैका वामपन्थी कामका विरोधीलाई पार्टीमा समेट्न सकिँदैन। माधव र प्रचण्डलाई होइन, तलका नेता कार्यकर्तालाई सम्मानसाथ स्वागत गर्न तयार छौँ।’

    ओलीले आयोग गठबन्धनसँग मिलिसकेकाले आगामी निर्वाचनमा मतपेटिकालाई आफूबाट ओझेल पर्न नदिन कार्यकर्तालाई आग्रह गरे। ‘निर्वाचन आयोग नै एमालेविरूद्ध लागिसकेको छ। यसपटकको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर र सिराहा काण्ड दोहोरिन सक्छ’, उनले भने। ओलीले निर्वाचन आयोगको भूमिकालाई लिएर चनाखो रहन एमाले कार्यकर्तालाई पनि आग्रह गरेका छन्।

    चुनाव चिन्हमा हरियो र निलो रंग राख्नुपर्ने कारण पनि निर्वाचन आयोगले दिन नसकेको ओलीले बताएका छन्। ‘रंगको कारणले अलमलमा परेको कुरा आएको थिएन’, उनले भने, ‘निर्वाचन आयोग सत्ता गठबन्धनसँग छलफलमा छ। उसले गठबन्धनसँग मिलेर यी निर्णय गरिरहेको छ। चुनाव चिन्हको रंग किन बदल्नुपर्यो? दलहरूसँग परामर्श गर्नुपर्दैन। सत्ता गठबन्धनसँगको परामर्शमै यो काम भएको हो। निर्वाचन आयोग विगतमा पनि एमालेविरुद्ध थियो, अहिले पनि हामीले सजग हुनुपर्ने भएको छ।’

    ‘निर्वाचन आयोग गठबन्धनसँग मिलिसकेको देखिन्छ। त्यसैले यो निर्वाचनमा हामीले आँखाबाट मतपेटिकालाई ओझेल पार्नु भएन। अन्तिमसम्म मतपेटिका आँखा अगाडि हुनुपर्छ’, उनले भने, ‘मतपेटिकलाई लिएर अरुको कुरामा विश्वास गरेर हुँदैन। सबै चनाखो हुनुहोला। कसैको विश्वासमा पर्ने कुरा हुँदैन। यदि विश्वासले चल्ने भए यी सबै कुरा गर्नै पर्ने थिएन। गोप्य मतदान नै किन गर्नुपर्थ्यो र ?’

    पछिल्लो समय निर्वाचन आयोगको भूमिकालाई लिएर ओलीले यो पटकको निर्वाचनमा पनि ‘चितवनको भरतपुर र सिरहा काण्ड’ दोहोरिन सक्ने आशंका गरे। ‘निर्वाचन आयोग पहिले पनि एमालेविरुद्ध लागेको थियो। अहिले पनि त्यही कुरा दोहोरिन सक्ने अवस्था छ’, उनले भने, ‘हामी षड्यन्त्रभित्र छौँ। हाम्रा आँखा अगाडि मतपत्र हुनुपर्छ। मतपेटिका हामीबाट ओझेलमा पर्नुहुँदैन।’
    बैठकले बुधवार र विहिवार हुने केन्द्रिय समिटिको वैठकका लागि ११ एजेन्डा तयार गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend