काठमाडौं, २२ मंसिर – नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरू प्यानल बनाउन सक्रिय भएका छन्। संस्थापन पक्षबाट शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार बन्ने पक्का भइसकेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सभापतिको उम्मेदवार तय गर्न दौडधुपमा छ। सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधि भने प्यानलमा पदाधिकारीको खोजी गर्दैछन्।
प्रदेश अधिवेशन सकिएपछि केन्द्रका लागि कांग्रेसमा दौडधुप भएको हो। संस्थापन र संस्थापन इतर समूहलाई संयुक्त उम्मेदवार बनाउन हम्मे हम्मे छ। महाधिवेशन आउन २ दिन बाँकी हुँदासमेत इतर समूहका शीर्ष नेता सबै सभापति उम्मेदवारका आकांक्षी भएकाले सहमति जुट्न सकेको छैन।
संस्थापन पक्षबाट सभापतिको उम्मेदवारमा देउवा निर्विकल्प भए पनि अरू पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन। नेताहरू कोठे छलफलमा व्यस्त छन्।
सोमबार केही सञ्चारकर्मीमाझ देउवाले उम्मेदवारी घोषणा गरेका थिए। ‘यसपालिसम्म मात्र मलाई विधानले उम्मेदवार बन्न दिन्छ,’ देउवाले सञ्चारकर्मीसँग भने, ‘पार्टीका साथीहरूलाई सहयोग गर्नुहोस् भनिसकेको छु।’ बाँकी पदाधिकारी व्यवस्थापन गर्न भने देउवालाई पनि समस्या देखिएको छ। उपसभापति र महामन्त्रीमा संस्थापन पक्षबाटै आकांक्षी धेरै भएका कारण पनि देउवालाई व्यवस्थापनमा सकस परेको हो।
संस्थापनबाट उपसभापतिमा पूर्णबहादुर
खड्का र विजयकुमार गच्छदार उम्मेदवार बन्ने दाउमा छन्। देउवाले तेस्रो धारका कृष्णप्रसाद सिटौलालाई पनि उपसभापतिको उम्मेदवार बनाएर टिम मिलाउने गृहकार्य गरिरहेको उनी निकट नेताहरू बताउँछन्। सिटौलासँग मिलेरै देउवा समूहले २ वटा प्रदेश सभापतिमा जित निकालेको थियो। सिटौला निकट नेता केशवकुमार बुढाथोकी भन्छन्, ‘सिटौलाजीले जिल्लादेखि प्रदेश अधिवेशनमा देउवाजीसँग समन्वय गर्नुभयो। उहाँ कि देउवा समूहसँग मिलेर उपसभापतिको उम्मेदवार बन्ने हो, कि त आफ्नो लाइनको कसैलाई महामन्त्रीमा सुरक्षित गर्ने हो।’
महामन्त्रीमा भने देउवा समूहमा आकांक्षी धेरै छन्। गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखक आकांक्षी छन्। प्रवक्ता शर्मा भन्छन्, ‘भोलिसम्म पदाधिकारी उम्मेदवारको टुंगो लाग्छ। अहिले छलफलमै छौं।’
पौडेल पक्षले सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। यो समूहका नेताहरूबीच दर्जन बढी बैठक भइसकेका छन्।
इतर समूहमा पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला र सुजाता कोइराला सभापतिका आकांक्षी छन्। यो समूहबीच मंगलबार भएको छलफलमा शशांकले पौडेललाई समर्थन गर्दै सभापतिको दाबीबाट पछि हटेको घोषणा गरेका थिए।
‘शशांकजीले मलाई समर्थन गर्नुभएको छ,’ पौडेलले भने, ‘शेखरजी र प्रकाशमानजीलाई पनि मिलेर आउनुहोस् भनेको छु। भोलिसम्म खुसीको खबर सुन्न पाउनुुहुन्छ।’ पौडेलले बुधबार आफूपक्षीय जिल्लाका सभापति र प्रदेशका नेताको बैठक बसेर सुझाव लिइने जनाए।
प्रदेश अधिवेशनको परिणामले पनि इतरपक्षमा साझा उम्मेदवार तय गर्न समस्या भएको छ। ६ प्रदेशमा भएको चुनावमा इतरपक्षले लुम्बिनी र गण्डकी प्रदेशमा मात्र जितेको छ। अन्य प्रदेशमा संस्थापनकै अग्रता छ। युवा नेता गुरु घिमिरे भन्छन्, ‘केन्द्रमा नेताहरू निष्कर्षमा पुग्न नसक्नु राम्रो संकेत होइन। हामी युवा नेतृत्वले पनि दबाब दिएका छौं।’
साझा उम्मेदवारीका विषयमा पौडेल निवासमा मंगलबार इतरपक्षका नेताहरूको बैठक बसेको थियो। ‘कोही त लचिलो हुनुपर्छ नि !,’ अर्जुननरसिंह केसीले भने, ‘सबैले आफ्नो शक्ति छ भन्ने लागेपछि कसरी हुन्छ ? तर, पनि भोलिसम्म सहमति होला, हेरौं।’
युवानेताहरूले दिन थाले दबाब
इतरपक्षका नेता तथा कार्यकर्ताले साझा उम्मेदवार छिटो टुंग्याउन नेतृत्वमाथि दबाब बढाएका छन्। युवा नेताहरूले सोमबार र मंगलबार पनि संयुक्त र छुट्टाछुट्टै भेटेर नेताहरूलाई दबाब दिएका थिए। नेता गगन थापा भन्छन्, ‘समय घर्किसक्यो, तपार्इंहरू एक हुनुहोस्। अरू बिकल्प छैन भनेर भनी राखेका छौं।’
अर्का युवा नेता भुपेन्द्रजंग शाही भन्छन्, ‘प्रदेशको नतिजाले पनि हामीलाई एउटा म्यासेज दिएको छ। यस्तो अवस्थामा एक हुनुको विकल्प छैन। बुधबार मध्यान्हसम्म एक नेताको नाममा सहमति हुन्ने विश्वास छ।’
बिहीबार पूर्वजिल्ला सभापति, नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापतिसहित केन्द्रीय तहका नेतासहितको भेलाले निश्कर्ष निकाल्ने अर्की नेतृ सरिता प्रसार्इंले बताइन्।
इतरपक्षको उपसभापतिमा महेश आचार्य, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी र चन्द्र भण्डारीको दाबी छ। महामन्त्रीमा गगन थापा, मीनेन्द्र रिजाल र धनराज गुरुङ आकांक्षी छन्। सह–महामन्त्रीमा बद्री पाण्डे, महिलाबाट कमला पन्त र सरिता प्रसाईं आकांक्षी छन्। दलितबाट भने जीवन परियारलाई उम्मेदवार बनाउने पौडेल पक्षले तयारी गरेको छ। परियारले मंगलबार उम्मेदवारी घोषणा गरिसकेका छन्।
शशांकले पौडेललाई समर्थन गर्ने
पौडेल निवासमा मंगलबार भएको बैठकमा शशांकले सभापतिमा पौडेललाई समर्थन गर्ने बताएका थिए। ‘रामचन्द्रजीका लागि मैले छाडेँ,’ बैठकमा शशांकको भनाइ उदृत गर्दै एक नेताले भने, ‘उहाँ सिनियर नेता हो। एकपटक उहाँलाई सहयोग गर्नुपर्छ।’ कि मिलेर आउन, कि त आफूलाई सहयोग गर्न आग्रह गरेकाले पौडेललाई नै समर्थन गर्नुपर्ने शशांकको भनाइ थियो। ‘शेखर दा र प्रकाशमानजी मिलेर १ जना आउनुभयो भने रामचन्द्रजी पनि पछि हट्छु भन्नुभएको छ,’ शशांकले भनेका थिए।