बागलुङ, ११ चैत – बागलुङ बजारमै बस्ने अन्दाजी १६÷१७ वर्षका एक युवा यहीँको विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् ।
लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी ग¥यो । नजिकैमा रहेको धौलागिरी अस्पतालमा क्षयरोगका बिरामीको लागि प्रत्यक्ष निगरानीमा निःशुल्क उपचार गर्ने व्यवस्था छ ।
तर, ती युवा नेपाल सरकारले उपलव्ध गराएको निशुल्क उपचार र औषधि छोडेर निजी स्वास्थ्य संस्थाबाट औषधिको सेवन गर्दै आएका छन् । उनको उपचार पोखराको एउटा नीजि अस्पतालमा भैरहेको छ । छ महिना नियमित खाने औषधि उनले सरकारी स्वास्थ्य संस्थाभन्दा बाहिरबाट लिन्छन् र आफ्नै तरिकाले अस्पताल आउजाउ गर्छन् ।
उनीजस्तै बजारका अरु एक दुई जना वयस्कहरु पनि क्षयरोगका उपचारका लागि जिल्ला बाहिरका नीजि अस्पतालमा पुग्ने गरेका छन् । क्षयरोगको संक्रमण भएपछि जिल्ला बाहिर गएर के कति मानिसहरु उपचार लिईरहेका छन् भन्ने तथ्यांक भने यहाँका सरकारी निकायसँग छैन् । सदरमुकाममा रहेको सरकारी अस्पताल र गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा उपचार सेवा हुँदाहुँदै बाहिरी जिल्लामा बिरामी उपचारका लागि पुग्नुको मुख्य कारण सामाजिक बहिस्करण, लान्छाना र दुव्र्यवहार ।
‘बिरामीमा लक्षण हुन्छ, क्षयरोग लागेको पत्ता पनि लाग्छ तर नियमित औषधिसेवन गर्दा, रोग लागेको थाहा लाग्दा समाजले गर्ने व्यवहारका कारण उनीहरु गोप्य रहन चाहन्छन्’, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल भन्छन् ,‘कम उमेरका युवायुवती र सम्पन्न परिवारका वयस्कहरु पनि उपचारको लागि बाहिर जाने गरेका छन् ।’
क्षयरोगको संक्रमण पछि नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा भएपनि उपचार गराउनेहरुबाट भन्दा रोगको पहिचान र उपचारमा सहभागी हुँदा सामाजिक लान्छाना आउँछ कि भनेर त्रसिनेका कारण बागलुङमा क्षयरोग फैलिएको उनको आंकलन छ । उनले समाजलाई सचेत बनाउने र क्षयरोगका लक्षण देखिएकालाई उपचारमा ल्याउने वातवराण बनाउनुपर्ने बताए । ‘गाउँभन्दा शहरमा रोग लुकाउने समस्या बढी छ, यो क्षयरोग नियन्त्रणको चुनौती हो’, स्वास्थ्य शाखाकै उप प्रमुख डिल्लि आचार्यले भने ‘एक जना संक्रमितले दश जनालाई सार्न सक्छ, हामी सचेत बनौं, क्षयरोगीलाई सामाजिक दुव्र्यवहार होइन उपचारमा ल्याउने वातावरण बनाऊँ ।’
बागलुङ नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि सदरमुकाममा धौलागिरी अस्पतालको सेवा क्षेत्र बाहेकका दश वटा वडामा नै क्षयरोग जाँच र खोजपड्ताल गर्ने गरेको छ । बागलुङमा ९७ जना क्षयरोगी पत्ता लागेका छन् । गत बर्ष १६६ र त्योभन्दा अघिल्लो बर्ष १४६ जना पत्ता लागेको तथ्यांक छ । अहिले औषधि प्रयोग गरिरहेका मध्ये सबैभन्दा धेरै बडिगाड गाउँपालिकामा ४७ जना बिरामी छन् । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा ९ जना बिरामी रहेको तथ्यांक छ ।
क्षयरोग भएकाहरुले रोग लुकाउने गरेका कारण नियन्त्रणमा समस्या भैरहेको स्वास्थ्यकर्मिहरुले स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्टरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । ‘दिनमै देशभरमा १५÷२० जना क्षयरोगका कारण मर्ने गरेको तथ्यांक छ तर मानिसहरु लुकाउन छोडेका छैनन्’, घिमिरेले भने ‘यो दुर्भाग्यबाट बच्न सबै नागरिक सचेत हुनु आवश्यक छ ।’ क्षयरोग भएका मानिसले दुईहप्ता लगातार औषधि प्रयोग गरेपछि अरुलाई सर्दैन भने ६ महिना निरन्तर औषधि सेवनले रोग निको हुन्छ ।
क्षयरोग दिवसमा निःशुल्क स्वास्थ्य शिविर
विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्लाको तमानखोला गाउँपालिकामा निःशुल्क स्वासथ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना, धौलागिरी अस्पताल बागलुङ र तमानखोला गाउँपालिकाको समन्वयमा तमानखोलाको बोंगादोभानमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा १ सय ५० जनाको खकार, पिसाब, मधुमेह तथा एचआईभी जाँच गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । शिविरमा खकार जाँच भएका मध्ये १५ जनामा क्षयरोगसँग सम्बन्धित मिल्दाजुल्दा लक्षण देखिएपछि थप जाँचका लागि धौलागिरी अस्पताल पठाइएको छ । शिविरमा तमानखोला गाउँपालिकाले ५० हजार बढीको औषधि निशुल्क वितरण गरेको थियो ।
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिक अधिकृत अमृता बराल, स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन डिल्ली प्रसाद आचार्य, तमानखोला गाउँ पालिकाका ल्याव असिस्टेन विमला वुढा मगर, भुवानि शंकर पुन, हेल्थ असिस्टेन होम बहादुर लगायतको समुहले शिविरमार्फत सेवादिएका थिए । शिविरको संयोजन तमान खोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक छन्त्यालले गरेका स्वास्थ्य कार्यालयका क्षयकुष्टरोग निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिए ।