२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
फर्किए चिनियाँ विदेशमन्त्री वाङ

पूर्वाधारमा सघाउन ओली र प्रचण्डको सुझाव


जनमञ्च संवाददाता
  • १४ चैत्र २०७८ , सोमबार

  • पूर्वाधारमा सघाउन ओली र प्रचण्डको सुझाव

    काठमाडौं, १४ चैत – पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँग प्रतिबद्धताअनुसार पूर्वाधार निर्माणका आयोजना कार्यान्वयन गर्न आग्रह गरेका छन् । पूर्वाधार निर्माणले जनतामा दुई देशबीच विश्वास वृद्धि हुने उनीहरूको सुझाव छ । नेताहरूसँगको भेटवार्तापछि तीनदिने नेपाल भ्रमण सकेर विदेशमन्त्री वाङ आइतबार अपराह्न स्वदेश फर्केका छन् । विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । उनीहरूले नेपालको बढ्दो व्यापार घाटा कम गर्न नाकाहरू निर्वाध सञ्चालन हुनुपर्ने, दुई देशबीच थप आर्थिक साझेदारी हुनुपर्नेमा जोड दिएका छन् ।

    राष्ट्रपति भण्डारीसँग भेटवार्ता सकेर एमाले अध्यक्ष ओलीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्धमा महत्वपूर्ण योगदान दिएको भन्दै ओलीको प्रशंसा गरेका थिए । ओलीले आफ्नो सरकारका पालामा दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका समझदारी र सम्झौता कार्यान्वयनमा जोड दिएका थिए । ‘सरकारी भ्रमण भएको हुनाले चिनियाँ विदेश मन्त्रालयसँग दुई पार्टीबीचको सम्बन्धका विषयमा खासै कुरा भएन, दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनलगायतका विषयमा चर्चा भयो,’ एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भने, ‘बिआरआईको ढाँचामा दुई देशबीच सहकार्य हुनुपर्नेमा हामीले जोड दियौँ । यस्ता उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गर्‍यौँ ।’

    एमाले अध्यक्ष ओलीले रसुवागढी र तातोपानी नाका सहज रूपमा सञ्चालन हुनुपर्ने, कोभिड– १९ को महामारीपछि नेपालमा रहेका विद्यार्थीलाई चीनमा अध्ययन गर्न फर्काउनुपर्ने, हवाई उडान सुचारु गर्नुपर्ने, बिआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ विदेशमन्त्री वाङले यसबारे भविष्यमा सकारात्मक निर्णय हुने विश्वास व्यक्त गरेका थिए ।

    माओवादी अध्यक्ष प्रचण्डले पूर्वाधारसँग सम्बन्धित आयोजना कार्यान्वयनमा जोड दिएका थिए । भौतिक पूर्वाधार निर्माणले जनतामा दुई देशबीच आपसी विश्वास वृद्धि हुने प्रचण्डको भनाइ थियो । नेपालको बढ्दो व्यापार घाटा कम गर्न पनि नाकाहरू निर्वाध सञ्चालन हुनुपर्ने, दुई देशबीच थप आर्थिक साझेदारी हुनुपर्नेमा प्रचण्डले जोड दिएका थिए । नेपाल–चीन सम्बन्ध सुदृढ हुन प्रचण्डको योगदान रहेको भन्दै विदेशमन्त्री वाङले उनको तारिफ गरेको वार्तामा सहभागी नेता शक्ति बस्नेतले जानकारी दिएका छन् ।

    त्यसअघि विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा शिष्टाचार भेट गरेका थिए । भेटमा चीनका राष्ट्रपतिको नेपाल भ्रमण र राष्ट्रपति भण्डारीको चीन भ्रमणको चर्चा भएको थियो । विगतमा भएका समझदारी कार्यान्वयनमा राष्ट्रपति भण्डारीको जोड थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा आपसी चासो र हितका विषयमा छलफल भएको थियो ।

    धेरै सकारात्मक हुने ठाउँ छैन : डा. राजन भट्टराई, एमाले विदेश विभाग प्रमुख
    चीनबाट भएको उच्चस्तरीय भ्रमणको हामी स्वागत गर्छौँ किनभने यसले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा लैजान्छ । तर, यो भ्रमणमा भएका समझदारी हेर्दा धेरै सकारात्मक हुने ठाउँ छैन । बिआरआई कार्यान्वयनका कुराहरू यो भ्रमणमा छुटेका छन्, जसको कारण हाम्रो सरकारको तयारी नपुगेको हो । टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेँसी सुरुङ मार्गका विषय छुटेको छ । चीनसँगको नाका खोल्ने क्रममा मुस्ताङको कोरला नाकामा पूर्वाधारको विषय छुटेको छ । जलविद्युत् आयोजना निर्माणका विषयमा विगतमा भएका सहमति अहिले फलोअप भएको छैन । सीमापार रेलमार्ग र विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी विगतको सहमतिलाई फेरि दोहोर्‍याउनेबाहेक कुनै नयाँ काम भएको छैन । समग्रमा सरकारले जिम्मेवारीपूर्वक तयारी गरेन र यो भ्रमणलाई नेपालको हितमा उपयोग गर्न तत्परता देखाएन भन्ने हाम्रो निष्कर्ष हो ।

    रणनीतिक सन्देशसहितको भ्रमण : विनोज बस्न्यात, भूरणनीतिक मामिला जानकार
    चिनियाँ विदेशमन्त्रीको भ्रमण रणनीतिक रूपमा महत्वपूर्ण छ । दक्षिण एसियाका छिमेकीमध्ये पाकिस्तान, अफगानिस्तान र नेपालसँग चीनको सम्बन्ध राम्रो छ । भारतमा औसत भ्रमण सकेर आएका उनले स्पष्ट रूपमा नबताए पनि सांकेतिक रूपमा हामीले बुझ्नुपर्छ कि उनले नेपालमा एमसिसीको रेडलाइन तोकेका छन् । उनको सम्बोधनबारे आएका समाचारले पनि संकेत गरेको छ । उनले आगामी निर्वाचनमा वाम गठबन्धनका लागि संकेत मात्रै दिएनन्, जुनसुकै पार्टीको सरकार रहे पनि सहकार्य गर्ने सन्देश प्रवाह गरे र कांग्रेससँग पनि दूरी घटाउने चाहना प्रकट गरे । चीनको यो रणनीतिक सन्देशलाई नेपालले आफ्नो हितका आधारमा सम्बोधन गर्नुपर्छ ।

    चीनको चासो सम्बोधन भएको छ: डा. दिनेश भट्टराई, पूर्वराजदूत
    चीनबाट राजनीतिक भ्रमण सुरु भएको छ । दुई नेताबीच राजनीतिक संवाद भएको छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट चीनको मुख्यतः सुरक्षा चासो र संवेदनशीलतालाई सम्बोधन भएको छ । चीनको शंकालाई नेपालले स्पष्ट पारेको छ । नेपालमा सबै पार्टीले एक चीन नीतिमा प्रतिबद्धता जनाएका छन् । यो नेपालको चीन नीतिको शक्ति हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अब दुई देशबीच विगतमा भएका परियोजना कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा चीनको सहयोग अपेक्षित छ ।

    वाङको भ्रमणबारे के भन्यो चीनले ?
    चिनियाँ विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले नेपाली शीर्ष नेताहरूसँगको भेटमा पारस्परिक लाभकारी सहयोग सुदृढ गर्नेलगायत तीन प्रकारका सहयोग उल्लेख गरेका छन् । पहिलो, नेपाललाई आफ्नो राष्ट्रिय परिस्थितिअनुरूप विकासको मार्ग अघि बढाउन सहयोग गर्ने । ‘चीनले नेपाली जनताको आधारभूत र दीर्घकालीन हितलाई ध्यानमा राखेर समावेशी छलफलमार्फत राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक वृद्धि प्रवद्र्धनका लागि उपयुक्त सुशासन मोडेलको संयुक्त प्रयास गर्न सबै पक्ष र समूहहरूलाई प्रोत्साहन गर्दछ,’ वाङलाई उद्धृत गर्र्दै विदेश मन्त्रालयले भनेको छ ।

    दोस्रो, स्वतन्त्र देशको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई सधैँ सम्मान गर्ने । ‘नेपालको मामिलामा नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास छ । नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालमा भूराजनीतिक खेल खेल्ने प्रयासको विरोध गर्दछ । नेपाल चीन र दक्षिण एसियाबीचको सहयोगको ज्वलन्त उदाहरण बन्नुपर्दछ । नेपालले सबै देशसँग सौहार्दपूर्ण सम्बन्ध विकास गरेको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गरेको देख्दा चीन खुसी छ,’ वाङको भनाइ छ ।

    तेस्रो, चीनले नेपाललाई बेल्ट एन्ड रोड सहकार्यमा महत्वपूर्ण रूपमा सहभागी हुन सहयोग गर्ने पनि उल्लेख गरेको छ । ‘विगतका धेरै वर्षहरूमा दुई देशबीचको बेल्ट एन्ड रोड सहकार्यमा सन्तोषजनक प्रगति भएको छ,’ वाङलाई उद्धृत गर्दै विदेश मन्त्रालयले भनेको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend