९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देशभर प्रदूषण बढ्यो, मर्निङवाकमा नजान अनुरोध


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७८ , मंगलबार

  • देशभर प्रदूषण बढ्यो, मर्निङवाकमा नजान अनुरोध

    काठमाडौं, १५ चैत – वनजंगलमा डढेलो लाग्न थालेसँगै देशभर प्रदूषण बढेको छ । वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको हावा सोमबार अस्वस्थकर बन्न पुगेको छ ।

    सोमबार बिहान काठमाडौंमा प्रदूषण प्रतिघन्टा पिएम-२.५ को मात्रा १९८ माइक्रोग्राम प्रतिघनमिटर पुगेकामा साँझ केही घटेर १६७ कायम रह्यो । यो अवस्थामा वायुमण्डलमा रहेको हावा अस्वस्थकर मानिन्छ ।  साँझ सबैभन्दा बढी प्रदूषण पोखरामा रेकर्ड भएको छ । पोखरामा यो मात्रा २१७ पुगेको छ । त्यस्तै, सिमरामा १७८, नेपालगन्जमा १६७, भरतपुरमा १६३, धनकुटामा १५६ र काठमाडौंकै कीर्तिपुरमा १५३ सम्म पुगेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार तत्काल वर्षा गराउन प्रणाली सक्रिय छैन । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहे पनि वर्षा हुन सकेको छैन । ‘वायुमण्डलको सतहमा प्रदूषण छ, माथि बादल छ । बादलका कारण प्रदूषण माथि जान पाएको छैन,’ भट्टराईले भने, ‘वर्षा हुन नसक्दा उपत्यकामा तुवाँलो लागेको हो । हावा पनि चल्न सकेको छैन ।’

    गत वर्ष चैतमा पनि काठमाडौं प्रदूषणले प्रताडित थियो 
    गत वर्ष १३ चैतदेखि मसान्तसम्म काठमाडौं प्रदूषणले प्रताडित रहेको थियो । यो वर्ष गर्मीयाममा आइतबारबाट फेरि प्रदूषण बढ्न थालेको हो । वातावरण विभागको वेबसाइट ‘पोलुसन जिओभी डटएइनपीमा’ रत्नपार्क, पुल्चोक, शंखपार्क, भक्तपुर, भैँसेपाटी, लुम्बिनी, दाङ, धनगढीलगायत क्षेत्रको विवरण अपडेट छैन । नेपालमा १७ फागुनदेखि १७ जेठसम्म यो  अवस्था रहन्छ । सुक्खायाममा पर्याप्त पानी नपर्ने, तापक्रम बढ्ने र आगलागीसँगै डढेलोका घटना बढ्ने भएकाले पनि प्रदूषण उकालो लाग्ने गरेको पाइन्छ ।

    वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण बिहान र साँझ प्रदूषण बढेको बताए । ‘डढेलोका कारण दक्षिण एसियामै प्रदूषण बढेको छ । हाम्रोमा (नेपाल)मा पनि बिहान र साँझ  प्रदूषण धेरै पाइएको छ । यस्तोवेला मर्निङवाकमा नजान अनुरोध छ ।’ डढेलाको धुवाँ पनि वायुमण्डलमा मिसिँदा प्रदूषण बढ्नुका साथै तुवाँलो पनि देखिएको उनी बताउँछन् ।

    पछिल्लो २४ घन्टा (सोमबार बिहान ८:४५सम्म) मुलुकभर वर्षा रेकर्ड भएको छैन । बरू आइतबार साँझ एकैपटक ८४ ठाउँमा डढेलो लागेको थियो । सोमबार भने डढेलो घटेर १६ ठाउँमा झरेको वन विभागको भौगोलिक सूचना प्रणाली तथा नक्सांकन शाखाले जनाएको छ । शाखाले हरेक दिन बिहान ११ बजे र ३ बजे वन डढेलोको तथ्यांक लिने गर्छ ।

    वन डढेलोका विज्ञ रहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्मा कम्तीमा एक सय स्थानमा डढेलो लागेको हुन सक्ने बताउँछन् । ‘मोडिस प्रणालीमा आधारित स्याटेलाइटबाट तथ्यांक लिएर डढेलोका घटना पहिचान हुन गरेका छन्, यसमा तीन सय मिटरभन्दा सानो आगो देखिँदैन । केही घन्टा लागेको डढेलो पनि तथ्यांकमा नदेखिन सक्छ,’ उनले भने, ‘कम्तीमा एक सय स्थानमा डढेलो लागेको हुनुपर्छ ।’

    गत वर्ष चैतमा एकैदिन ३९७ स्थानमा डढेलो लागेको थियो । एक वर्षमा ६ हजार ७ सय ९९ स्थानमा डढेलो रेकर्ड भएको छ ।  नेपालमा मंसिरदेखि नै डढेलो लाग्न सुरु हुन्छ । ‘चैत–वैशाख डढेलोको पिक समय हो, त्यसमा पनि सबैभन्दा बढी डढेलो वैशाखको दोस्रो साता लाग्ने गरेको छ,’ शर्माले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend