काठमाडौं, १५ चैत – आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचन सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तासाझेदार अन्य दलले पहिला नै निर्णय गरिसकेको र कांग्रेसले पनि मंगलबार केन्द्रीय कार्यसमिति बैठकमार्फत यसबारे औपचारिक निर्णय लिने भएपछि स्थानीय चुनावमा पाँचदलीय गठबन्धन निश्चित भएको हो ।
कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे सैद्धान्तिक र रणनीतिक निर्णयसँगै आवश्यकताका आधारमा तल्ला तहमा यसले आकार ग्रहण गर्नेछ । तर, कुन मोडालिटीमा गठबन्धन बनाउने भन्नेमा दलहरूबीच अझै सहमति भइसकेको छैन । यसअघि गठबन्धनमा रहेका दलहरूले पहिला सबै दलले आन्तरिक निर्णय लिने र त्यसपछि मात्रै मोडालिटीमा जाने सहमति गरिसकेका छन् ।
पार्टीभित्र इतर समूहले गठबन्धन नबनाउन दबाब दिए पनि केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको चाहनाअनुसार आवश्यकता आधारमा गठबन्धनमा जानुपर्ने मत राखेका थिए । सोहीअनुसार पार्टीले मंगलबारको बैठकबाट प्रस्ताव पास गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
गठवन्धनका एक नेताको अनुसार चुनावी तालमेलको मोडालिटीका वारेमा शिर्ष नेताहरुका विचमा करीव करीव टुंगो लागेको र अव सिट बाँडफाँडको संवाद सुरु हुने भएको छ ।