एकादेशमा एक तानाशाही राजा थिए। उनको राज्य सानै थियो। अहिलेको एउटा गाउँ जत्रै। त्यहाँ पानीको ठूलो समस्या थियो। राज्यभरि जम्मा दुई वटा मात्रै खानेपानीका इनार थिए। एउटा राज्यको बीचमा। अर्को राजाको दरबारभित्र।
एकदिन राजालाई सनक चढेछ। आफू अरूभन्दा पृथक् देखिन मन लागेछ। कसरी अलग बन्न सकिन्छ भनेर धेरै सोचेछन्। त्यसपछि एकजना तान्त्रिकको सहयोगमा दरबारबाहिरको इनारमा तन्त्रमन्त्र गरेको धुलो हालेछन् । तान्त्रिकले उक्त धुलो हालेको पानी पिउने जति सबै पागल हुन्छन् भनेछन्। राजा त्यो सुनेर खुसी भए। तान्त्रिकलाई पुरस्कार दिँदै त्यो धुलो लिएर राजा दरबार फर्किए।
भोलिपल्ट विश्वासिलो एउटा मन्त्रीसँग सल्लाह गरेर राति नै उनीहरूले खुसुक्क त्यो धुलो इनारमा हालिदिए। दुई दिनपछि राज्यका सबै जनतालाई पागलपनले छोयो। दरबारभित्रकालाई मात्रै केही भएको थिएन। जनता पागल भएको चर्तिकला हेर्न राजा टोलटोलमा पुगे। जहाँजहाँ गए त्यहाँ अपमान सहनुपर्यो। सबैले राजालाई पागल ठाने। विरोध गर्न थाले। त्यो राजा हटाएर अर्को राजा बनाउने कुरा गर्न थाले।
सबै जनता एकजुट भएर दरबार नै घेर्न आए। तोडफोड गर्न थाले। दरबारभित्र सबैलाई त्राहित्राहि भयो। राजाले मन्त्रीलाई बोलाएर अब के गर्ने ? भन्ने सल्लाह गरे। मन्त्रीले भने, ‘महाराज अब हामीले पनि त्यही इनारको पानी खानुपर्छ, नत्र भने हाम्रो दिन सकियो।’ यो सुनेपछि मन्त्री र राजा पछाडिको ढोकाबाट खुसुक्क भागेर त्यो इनारमा पुगे। हतारहतार पानी पिए। दरबारका सदस्यका लागि पनि पानी भरेर ल्याए। सबैलाई पिलाए। अनि बाहिर जनतासामु आए। बाहिर निस्कँदा उनीहरू पनि जनताजस्तै भएका थिए। अचानक जनताबाटै आवाज आउन थाल्यो, ‘हाम्रा राजा कति प्यारा, राजा भनेको त यस्तो पो हुनुपर्छ।’