बागलुङ, २२ चैत – जिल्लाका सबै पालिकामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने भएको छ । गर्मी मौसममा पानी र खानेकुराबाट सर्ने तथा सरसफाइको कमी भएमा टाइफाइड हुने गर्छ ।
यो रोग सानादेखि ठूला मानिसमा पनि हुन्छ । तर, बालबालिकामा ११ गुणा बढी रोग लाग्ने सम्भावना भएको तथ्यांकले देखाएपछि खोप लगाउन लागिएको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
बागलुङ नगरपालिकाभित्र मात्रै १६ हजार ७ सय ५३ बालबालिकालाई खोप लगाइने छ । विश्व स्वास्थ्य संगठनले पनि यो खोपलाई मान्यता दिएको र अनिवार्य गर्न भनिसकेकोले नेपालभर खोप लगाइने भएको हो । नेपालमा हरेक वर्ष ४ लाख ५० हजार मानिस टाइफाइडको संक्रमणमा पर्ने गरेका छन् ।
१ लाख मानिसमा १ हजार ६२ जना र १५ बर्ष मुनीका बालबालिकाको हकमा भने १ लाखमा १० हजार ९ सय ६० जना संक्रमित भएको तथ्यांकपछि १५ महिनादेखि १५ वर्षका बालबालिकामा यो खोप लगाउन लागिएको हो ।
यो खोप अभियान सकेपछि आगामी वर्षदेखि भने १५ महिनामा दादुरा खोप लगाउने समयमै टाइफाइड खोप लगाउने तालिका बन्ने छ । यो खोप लगाउने क्रममा ती बालबालिकाले पूर्ण खोप लाए नलाएको पनि जाँच हुनेछ । सन् २०१७ को अध्ययन र २०२० को सरकारको निर्णय अनुसार यो खोप लगाउन शुरु भएको नगर स्वास्थ्य शाखाका वरिष्ठ अहेब नारायण शर्माले बताए ।
सोमबार पत्रकार अन्तरक्रियामा शर्मा र खनालले प्रस्तुतीकरण गर्दै नेपालको स्वास्थ्य अवस्थामा आएको सुधारबारे जानकारी गराए । बिरामी भएर ओषधी खाँदा एन्टिवायोटिक पुरा मात्रा नखाएमा किटाणुले झन् आक्रमण गर्ने भएकोले खोपमार्फत डोज दिनुपरेको शर्माले जानकारी दिए । टाइफाइड रोग प्रायः दिशामा हुने किटाणु मानिसको पेटमा पुगेमा लाग्ने गर्छ । टाइफाइड भएमा ज्वरो आउने, शरिरमा चाला देखिने लगायतको लक्षण हुने लगायतको जानकारी शर्माले गराए ।
यसैबीच, राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत आउँदो चैत २५ गतेबाट सञ्चालन हुने टाइफाइड बिरुद्ध खोप अभियानमा जिल्लाको जैमिनी नगरपालिकाले घर घरमै पुगेर अभियानमा सहभागी हुन आग्रह गर्ने भएको छ ।
आईतबार सरोकारवालासँग अन्तरक्रिया गर्दै जैमिनी नगरप्रमुख इन्द्रराज पौडेलले खोप अभियान सबैको सरोकारको विषय भएकाले प्रचार प्रसार गरेर घर घरमा पु¥याउन आग्रह गरे । नगरपालिकाका झण्डै ५ हजार ७ सय ६५ जना १५ महिना माथी १५ वर्ष भित्रका बालबालिकालाई खोप लगाउने नगरको योजना छ ।