९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मालढुंगा-बेनी सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७८ , बुधबार

  • मालढुंगा-बेनी सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

    पर्वत, २३ चैत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।

    सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो ।

    हाल तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक सवारीसाधनका हकमा सहजीकरण गरिने छ ।

    मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बागलुङ-रत्नेचौर-बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ । एपेक्स-खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताए।

    कुश्मा नगरपालिका-१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । मालढुङ्गा-बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

    २०७७ साल चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दै आएको छ ।

    २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत निर्माण थालिएको सडक २०५२ मा सञ्चालनमा आएको हो । २०६८ सालमा कालोपत्र भएको मालढुङ्गा-बेनी सडक पछिल्लो समय जीर्ण थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend