सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको परमादेश अनुसार बनेको सत्ता गठबन्धनले देश कब्जाको घातक बाटो अवलम्बन गरेको छ। स्थानीय निर्वाचन नजिकिँदै गर्दा र संघीय निर्वाचनका लागि आठ महिना समय बाँकी रहँदा गठबन्धनका शीर्ष नेताहरु जसरी हुन्छ, सत्तारुढ गठबन्धन, परमादेशी सरकार, आफ्नो परिवार र आफूलाई बलियो बनाउन तीब्र प्रतिस्पर्धामा लागेका छन्। जताततै आफ्नो पार्टीगत, पारिवारिक र व्यक्तिगत कब्जा जमाएर राज्य संयन्त्रलाई निरीह बनाएर आफू बलियो हुने यस घातक प्रतिस्पर्धाका दीर्घकालीन असरहरु राज्यले भोग्नुपर्ने खतरा उत्पन्न भएको छ।
देशको अर्थतन्त्र चरम संकटमा पुगेको छ। मूल्यबृद्धि आकाशिएको छ, मुद्रास्फिति चर्को रुपमा बढेको छ, आयातले देशलाई टाट पल्टाउने अवस्थामा पुर्याएको छ, विकास खर्च अत्यन्त न्यून छ, बैंकहरुमा तरलाको अभाव छ, सम्पूर्ण व्यवसायहरु प्रभावित भएका छन्। समग्रमा देशका आर्थिक गतिविधिहरु ठप्प प्रायः अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा सरकार खर्च नियन्त्रणका लागि होइन, बढाउनमा उद्यत छ। वर्तमान गठबन्धन सत्तामा आएपछि हरेक प्रदेशमा मन्त्रालयहरु फुटाएर झ्यालझ्यालमा मन्त्रायहरुका बोर्डहरु राखिएको छ, गल्लीगल्लीमा भेटिने मन्त्रीहरु बनाएको छ। अन्धाधुन्ध सरकारी नियुक्तिहरु गरिएको छ। यी सबै कामबाट राष्ट्रको व्ययभार मात्र बढेको छ र सरकारी काम प्रभावकारी हुनुको साटो झन् भद्रगोल भएको छ।
लामो समय कोभिडले थला पारेको अर्थतन्त्र कोभिडको प्रकोप सकिएपछि सुध्रिनुको साटो झन् ओरालो लागेको छ। अर्थमन्त्रालयको जिम्मा पाएका जनार्दन शर्माको ध्यान अर्थतन्त्र सुधार्नमा भन्दा अर्थ संकलन गरेर पार्टीभित्र आफू बलियो हुनमा केन्द्रित छ। यस्तो बेलामा अर्थतन्त्रलाई नियन्त्रणबाहिर जान नदिनका लागि निरन्तर सल्लाह–सुझाव दिनुका साथै नियन्त्रणका केही ससाना कदमहरु चाल्दै गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकारले सबैलाई आश्चर्यचकित बनाएको छ।
स्वयम् सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आवाज उठिरहेको थियो र सबै सहमत छन्, अर्थमन्त्री जनार्दन शर्मा जति दिन पदमा रहन्छन्, त्यति तीब्र गतिमा अर्थतन्त्र ध्वस्त हुन्छ, तस्करीका अवैध मार्गहरु फस्टाउँछन् र मुलुक टाट पल्टिने दिशामा जान्छ। यस्तो अवस्थामा उनलाई बरु कमाई हुने अर्को कुनै मन्त्रालयतिर सारेर भए पनि अलिकति अर्थतन्त्र बुझेको र राष्ट्रलाई माया गर्ने मानिसलाई मन्त्री बनाउनुपर्नेमा उल्टै गभर्नरलाई निलम्बन गरेर आफ्ना कमजोरी ढाकछोप गर्न खोज्नु चरम अयोग्यता मात्र हो। किनभने, सबैलाई थाहा छ, यतिबेला गभर्नरका कारण अर्थतन्त्रमाथि संकट मोडिएको होइन। नेपाल राष्ट्र बैंकले त स्थितिलाई नियन्त्रणबाहिर जान नदिनका लागि कडाइका उपायहरु अवलम्बन गरिरहेको छ र त्यसै अनुसार चल्न सरकारलाई सल्लाह दिइरहेको छ।
यस्तो बेलामा गभर्नरलाई निलम्बन गर्नु कुनै व्यक्तिविशेषको कुरा मात्र होइन, अवैध कामलाई बैधता दिलाउने योजनाको एउटा अंग हो। फेरि गभर्नरको निलम्बन यस्तो बेलामा भएको छ, जतिबेला अमेरिकाबाट आएको स्रोतबिनाको ४० करोड रकम निकासाका लागि अर्थमन्त्री शर्माले निर्देशन दिएको समाचार सार्वजनिक भएको छ। यी र यस्तै अवैध, शंकास्पद र व्यक्ति विशेषका स्वार्थमा काम गर्नुबाहेक अर्थमन्त्रीको अरुमा न ज्ञान छ न ध्यान छ। यसबीचमा जति पनि राजनीतिक नियुक्तिहरु भएका छन्, तिनलाई मात्र हेर्ने हो भने पनि आम नागरिकले कहीँकतैबाट मन बुझाउने ठाउँ छैन। स्वस्थानीमा उल्लेख भए जस्तै आफन्तहरु सकिएपछि मीत छोरा खोजेर भए पनि नियुक्तिहरु दिनमा तीब्र प्रतिस्पर्धा छ।