बागलुङ, २६ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय दलीय गठबन्धन सरकारले देशको ढुकुटी रित्याएको आरोप लगाएका छन् । बागलुङमा आयोजित निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रलाई सम्बोधन गर्दै उनले आफूहरु सरकारबाट बाहिरिनेबेला ९ महिनाको विदेशी मुद्रा सञ्चिती ४ महिनामा पु¥याएको आरोप लगाएका हुन् ।
‘हामी सरकारबाट बाहिरिने बेला विदेशी मुद्राको सञ्चिती एक वर्ष पुग्ने थियो, अहिले चार महिना पनि नपुग्ने बनाए,’ ओलीले भने, ‘यो सरकारले आउँदो बजेटमा कर्मचारीले तलब बढाउला भनेर आशा नगरे हुन्छ, बढ्नुका त कुरै छोडौं तलब पाउन पनि कठिन होला !’
विदेशी मुद्राको सञ्चिती रित्तिँदा विदेश जाने, विकास निर्माणका काममा भुक्तानी गर्ने रकमसमेत नहुने भन्दै उनले नौ महिनामा देश कंगाल बनाएको आरोप लगाए । उनले शासकीय असक्षमताकै कारण देश कमजोर भएको दाबी गरे ।
आफ्नो सरकारका पाला देशले विकासको फड्को मारेको भन्दै ओलीले विदेशी दलालको योजनामा विकासको गति रोक्न बहुमतको सरकार हटाएको जिकिर गरे । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलन सिध्याउनका लागि विदेशीले तयार गरेका पात्र भएको आरोप लगाए ।
‘गबन्धन भ्रष्ट तत्वहरुको समूह हो, त्यो पशुपति शर्माको गीत छ नि लुट् कान्छा लुट् हो त्यस्तै गरिरहेका छन्,’ उनले भने ‘वाइडबडी, बालुवाटार खानेहरुले नै अहिले हामीलाई प्रश्न गर्छन्, लुटिरहेका छन् ।’ ओलीले कम्युनिष्ट कार्यकर्ता नम्र र शालिन हुनुपर्ने बताए ।
आउँदो स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले छेक्न नसक्ने भन्दै उनले ३५ हजार सिटमध्ये २० हजार बढी सिट एमालेले जित्नैपर्ने बताए । ‘एमालेमा जनताको आकर्षण देखेर गठबन्धनमा सहभागि दल र उनका प्रभुहरु डराइरहेका छन्,’ ओलीले भने, ‘आउँदो चुनावपछि लकडाउनका बेला खुलेका सटर जस्तै, खुल्ला रहने व्यापार नहुने, पार्टी अस्तित्वमा छ तर काम नलाग्ने अवस्थामा पुग्छन् ।’
देश विकासका लागि आफूले बनाएका योजनाहरुमा हलुका टिप्पणी गर्नेहरु नै अहिले तिनै योजनाको उद्घाटन र शिलान्यासमा व्यस्त हुने गरेको अध्यक्ष ओलीले बताए । आफ्नो सरकारका पालामा कागजको रेल बनाउनेहरुले नै अहिले जनकपुर जयनगर रेशको उद्घाटन गरेको उनले बताए ।
‘हिजो हामीले रेलमार्ग बनायौं, रेल ल्यायौं उनीहरु कागजको रेल बनाएर मजाक उडाउँदै थिए, आज भारत पुगेर त्यहीं रेलको उद्घाटन लाजै नमानी गरे,’ ओलीले भने, ‘चोभारमा सुख्खा बन्दरगाहको विरोध गर्नेले हिजोअस्ती कहिले हो त्यही हामीले बनाएको बन्दरगाह उद्घाटन गरे रे !’ ओलीले विभिन्न राजनीतिक दल छोडेर आएका युवालाई पार्टी प्रवेश गराएका थिए ।