पोखरा, ४ बैशाख – नेपाली कांग्रेसको तर्फबाट पोखराको मेयरमा १८ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस पोखरा नगर समितिले आकांक्षीको नाम मागेकोमा तोकिएको समय आइतबार अपरान्ह ४ बजेसम्म १८ जनाले मेयर र १० जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरको आकांक्षीमा गण्डकीका कानूनमन्त्री विन्दुकुमार थापा,कास्की कांग्रेसका वर्तमान सभापति किशोरदत्त बराल, निवर्तमान सभापति कृष्णबहादुर केसी, व्यवसायीहरु विश्वशंकर पालिखे,गणेशबहादुर भट्टराई,किरण केसी,बाबुराम गिरी, ऋषि सापकोटा, पत्रकार गंगाधर पराजुली, यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, पूर्वसचिव बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, वीरेन्द्रनारायण बिजुक्छे, नेपाली कांग्रेस गण्डकी सहमहामन्त्री कोपिला रानाभाट र अधिवक्ता विश्व घिमिरे छन् ।
उपप्रमुखमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले पनि उम्मेदवारी दर्ता गरेका पोखरा नगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । नेपाली कांग्रेस पोखरा नगर समितिले मेयर बन्नेसँग २५ हजार र उपमेयरसँग २० हजार रुपैयाँ लिएको थियो । फारामको ५ सयसहितको सो रकम सहयोग भएको सभापति विजुक्छेले जिकिर गरे । उनले अहिले आएका नामहरुबाट सर्वसम्मत बनाउन पहल गरिने तर, सम्भव नभए सबै नामहरु केन्द्रमा पठाउने सम्भावना रहेको पनि बताए ।
‘अब कार्यसम्पादनको बैठक बस्छ । भोलिसम्म उम्मेदवारबीच सहमतिको वातावरण बनाउने प्रयत्न गर्ने हो । त्यो भएन भने, विधानले एक महिलासहित ३ जनाको नाम केन्द्रमा पठाउने भनेको छ’, उनले भने, ‘चुनाव गराएर बहुमतको आधारमा काम गरेर राम्रो हुँदैन कि भन्ने पनि छ । एमालेले आकांक्षीहरु सबैको नाम पठाएको (केन्द्रमा) छ । त्यसै गर्न पनि सकिन्छ ।’
अन्यौलकै बीच उम्मेदवारी
पोखराको मेयरको लागि प्रमुख दावेदार हुन्, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कुनै पदमा पनि उम्मेदवारी नदिएका केसीले मेयर बन्नकै लागि मादी गाउँपालिकामा रहेको मतदाता नामावली पोखरा १३ मा सारेका छन् ।
वरिष्ठ नेता रामचन्द्र समूहमा रहेका उनी २०७४ सालको प्रदेश सभा चुनावमा कास्की क्षेत्र नम्बर १ कबाट उम्मेदवार बनेका थिए । तर, उनी हालका एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङसँग पराजीत भए । प्रदेश वा केन्द्रको सांसदको उम्मेदवार नबन्ने बताएका उनले त्यसयता नै आफूलाई मेयरको रुपमा अगाडि सार्दै आएका छन् ।
तर, आइतबार मेयरको लागि आन्तरिक प्रतिस्पर्धामा उत्रिँदा उनी उत्साहित थिएनन् । कारण थियो, केन्द्रमा सत्ता गठबन्धनबीच हुने भनिएको चुनावी तालमेल र त्यसपछि पोखराको मेयर कांग्रेसको भागमा पर्दैन कि भन्ने चिन्ता ।
उम्मेदवारी दर्ता गरेपछि उनले भने, ‘खै के हुने हो,भर्खरै रामचन्द्र दाइ ( रामचन्द्र पौडेल) ले फोन गर्नुभएको थियो, गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले पोखराको मेयरको दावी छाडेकै छैन रे,हामीले नै मेयर पाउने हो कि हैन,थाहा छैन ।’ त्यसो भनिरहँदा उनले नेकपा एकीकृत समाजवादीलाई मेयरको भाग दिए पनि त्यसका उम्मेदवारले चुनाव नजित्ने जिकिर पनि गरे ।
गठबन्धनमा के हुन्छ ?
प्रदेशका बहालवाला मन्त्री विन्दुकुमार थापाले पनि आफूलाई मेयरमा उभ्याए । प्रदेश मन्त्रीभन्दा तल्लो पदमा आउन लालायित उनले आफूले मात्रै चुनाव जित्ने आधार भएकाले पार्टीको हितका लागि तल्लो पदमा झर्न तयार रहेको प्रतिक्रिया दिए ।
नेकपा माओवादीले प्रदेश सांसद नै रहेकी आशा कोइरालालाई तनहुँको शुक्लागण्डकी नगरपालिकाको मयरमा सर्वसम्मत सिफारिस गरेको छ । मेयरको उम्मेदवार बन्दा उनले प्रदेश सांसदबाट राजीनामा दिनुपर्छ । अहिले गण्डकी प्रदेशमा कांग्रेसका १५ सांसद छन् । जनमोर्चाका कृष्ण थापा कारवाहीमा पर्दा प्रदेशमा ५९ सांसद छन् । तीमध्ये एक्लै एमालेको २७ जना सांसद छन् ।
प्रतिपक्षी दल एमालेबाट पनि २ जना सांसदले पोखरा महागर प्रमुखमा दाबी पेश गरेका छन् । नेकपा एमालेबाट पोखरा महानगर प्रमुख बन्न सांसद कृष्ण थापा, राजीव पहारी पनि सिफारिस भएका हुन् ।
कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकार जनमोर्चाका २, माओवादी सभामुखसहित १२, जनता समाजवादीका २ जना र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा उभिएको छ । त्यहाँ एकजना सांसदले राजीनामा दिँदा सत्ता गठबन्धनसँग ३० जनामात्रै सांसद रहन्छन् । त्यस्तोमा सरकार अल्पमतमा पर्ने सम्भावना रहन्छ ।
सरकार नै अल्पमतमा पर्ने गरी मन्त्री थापालाई मेयर उम्मेदवार बनाउने कि नबनाउने भन्नेबारे पार्टीले निर्णय गरेको छैन । यद्यपि, विन्दुकुमार थापाले आफूले राजीनामा दिए पनि सरकार अल्पमतमा नपर्ने जिकिर गर्दै आइरहेका छन् । अझ रमाइलो त के भने विन्दुकी साख्खै बुहारी मिलन थापाले पनि उपमेयरमा आकांक्षा देखाएकी छन् ।
‘आज जसले आफूलाई उम्मेदवार घोषणा गरेका छन्, ती सबैको मनमा कांग्रेसले नै मेयर पाउँछ भन्ने छैन’, पार्टी कार्यालयमा भेटिएका एक नेताले भने, ‘दावेदारी प्रस्तुत गर्नु एउटा कुरा हो, कांग्रेसीहरु मनमनै गलेका छन् ।’
एमालेले यसअघि नै मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम केन्द्रमा पठाएको छ । नेकपा एकीकृत समाजवादीले मेयरमा ६ जना उपमेयरमा ३ जनाको नाम सिफारिस गरेको छ । मेयरमा धनराज आचार्य, श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयवावु वनवासी, दामोदर शर्मा र प्रेम थापा रहेका छन् । उपमेयरमा होम नेपाली, पूर्ण लामा र संगीता केसी सिफारिस गरिएको कास्की अध्यक्ष धनराज आचार्यले बताए । आउँदो ६ गते यी नामबाट मेयर छानिने उनले बताए । समाजवादीले कास्कीका ७२ वटै वडामा ५ जनाको नाम सिफारिस गरेको छ ।
अन्नपूर्णमा ७ जना आकांक्षी
कास्कीको अन्नपूर्ण गाउँपालिकामा प्रमुख युवराज कुँवरसहित ७ जनाले प्रमुखका लागि आवेदन दिएका छन् । कास्कीमा २०७४ सालमा एक मात्र कांग्रेसले अन्नपूर्ण गाउँपालिका जित निकालेको थियो । अध्यक्ष कुँवरसहित पोषनाथ शर्मा, आईबहादुर गुरूङ, मनपति भण्डारी, जीवनाथ पौडेल, राज बहादुर गुरूङ र मुक्तिराम अधिकारीले आन्तरिक उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा खिम कुमारी गुरूङ र गौमाया नेपालीले आवेदन दिएका छन् ।
माछापुच्छे« गाउँपालिकामा ९ जना
माछापुच्छे« गाउँपालिकामा कांग्रेसबाट प्रमुखमा ९ जना र उपप्रमुखमा ५ जनाले आकांक्षा देखाएका छन् । प्रमुखमा खुशीमान गुरूङ, दीपकराज पौडेल, विष्णुबहादुर क्षेत्री, केशवराज अधिकारी, मीनबहादुर गुरूङ, टेकनशोभा गुरुङ, कृष्ण कुमारी गुरूङ, भिमबहादुर गुरूङ र वीरेन्द्र गुरुङले आन्तरिक उम्मेदवारी दिएका हुन ।
। त्यस्तै, उपाध्यक्षमा सीता अधिकारी, लक्ष्मी लम्साल, मीना देवी सुवेदी, पूर्ण कुमारी शर्मा पौडेल र जुना कुमारी जिसीले दाबी पेश गरेका छन् ।
रुपामा गाउँपालिकामा २ जना
रुपा गाउँपालिकाको प्रमुखमा २ जनाले आकांक्षा देखाएका छन् भने उप्रमुखमा समेत २ जनाले आकांक्षा देखाएका छन् । अध्यक्षमा गिमाया गुरूङ र विमल न्यौपाने र उपाध्यक्षमा आनन्दराज सुवेदी र नारायण श्रेष्ठले आकांक्षा देखाएका छन् ।
मादीमा १२ आकांक्षी
मादी गाउँपालिकाको अध्यक्षका लागि १२ जना आकांक्षी देखिएका छन् । अध्यक्षमा सरोज केसी, ब्रिजमान गुरूङ, ओम प्रकाश गुरूङ, नेपाली कांग्रेस कास्की सभापति भानुभक्त ढकाल, देवीजंग गुरूङ, अर्जुन गुरूङ, सागर गुरूङ, कृष्णचन्द्र बराल, प्रेमबहादुर गुरूङ, लेखबहादुर गुरूङ, सूर्यमोहन सापकोटा र यमनाथ सापकोटाले दाबी प्रस्तुत गरेका हुन् । अध्यक्षमा आन्तरिक आवेदन दिएपनि उपाध्यक्षमा भने कांग्रेसले आकांक्षा देखाएको छैन ।