बागलुङ, ८ बैशाख – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । उक्त कार्यालयबाट बिहिबारदेखि काम शुरु भएको छ ।
निर्वाचनलाई मर्यादित बनाउन सरकारले जिल्ला न्यायाधिसको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत र न्याय क्षेत्रका अन्य अधिकृतलाई अन्य पालिकामा निर्वाचन अधिकृत तोकेको छ । बागलुङमा पनि मुख्य निर्वाचन अधिकृतले बागलुङ नगरपालिका हेर्नुपर्ने छ । अन्य पालिकामा गरी १० जना अधिकृतहरु तोकिएका छन् ।
सबै पालिकामा तोकिएका अधिकृतले कार्यालय खोलेर मतदाता नामाबली प्रकाशन गर्नेदेखि राजनीतिक दलका प्रतिनिधिसँग छलफल पनि गरिरहेका छन् । बिहिबार कार्यालय स्थापना गर्दै मुख्य अधिकृत बासुदेव न्यौपानेले निर्वाचन सफल बनाउने जिम्मा सबैको भएको बताए । ‘सबैको चाहना, सहयोग र सद्भावले निर्वाचन मर्यादित र स्वच्छ पनि हुन्छ’ न्यौपानेले भने, ‘राजनीतिक दलहरुले पनि निर्वाचनलाई स्वच्छ बनाउने काममा साथ दिनुहोला ।’
निर्वाचतपछि स्थानीय तहको नेतृत्व संहाल्ने भएकोले दलहरुले नै योग्य व्यक्ति छनौट गर्नेदेखि निर्वाचनलाई सफल पार्ने कामपनि गर्नुपर्ने उनको धारणा थियो । आचारसंहिता पालनामा पनि उनले दलहरुको ध्यानाकर्षण गराए । कार्यालय स्थापनामा सबै दललाई उपस्थित बनाएपनि भाषण गर्न भने दिइएन ।
‘निर्वाचनको बेला छ, दुइचार कुरा बोलौं भन्ने लागेको होला, तर आचारसंहिताको कारण बोल्न दिएनौं’ न्यौपानेले भने, ‘बरु उहाँहरुलाई अबका कार्यतालिका, निर्वाचनमा गर्नुपर्ने काम कर्तव्य अधिकार तथा सम्पर्क गर्ने व्यक्तिहरुको नामाबली समेत पठाउन भनेका छौं ।’ कार्यालयमै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिी, सुरक्षा निकायका प्रमुख राखेर न्यौपानेले निर्वाचनका कार्यतालिका पनि सार्वजनिक गरेका थिए ।
‘आचारसंहिता दलहरुले दलहरुकै लागि बनाइएको हो’
बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृतहरु पुगेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले बुधबारनै सरोकारवाला पक्षसँग निर्वाचन आचार संहिता र निर्वाचनका कार्यक्रम लगायतका बिषयमा छलफल थालेका छन् ।
राजनीतिक दलका प्रमुखहरुसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेबारी दलहरुकै भएको बताए । आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेबार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो ।
‘निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आँफैले बनाएको हो, दलहरु नै यसको कार्यान्वयनमा जिम्मेबार बन्नुपर्छ’ उनले भने ‘हामी कर्मचारीले निगरानी गरेर मात्रै कार्यान्वयन हुने बिषय होईन आचार संहिता ।’
बुधबार नै पत्रकारहरुसँग छलफल गर्दै न्यौपानेले सहि सूचना सम्प्रेसणमा ध्यान दिन आग्रह गरे । गलत सूचनाका कारण भय र द्वन्दको वातावरण सिर्जना हुनसक्ने भन्दै उनले निर्वाचनमा सफल बनाउने जिम्मेबारी सबैको भएको बताए ।