काठमाडौं, ९ बैशाख – नेकपा एमालेले शुक्रबार ७५३ वटै पालिकामा कार्यक्रम गरी चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । पार्टीको ७४औं स्थापना दिवसको अवसरमा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनका अनुसार शुक्रबार नै थापाथलीमा रहेको पार्टी कार्यालय औपचारिकरुपमा स्थानान्तर हुनेछ। पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुलसी लाल स्मृति भवनमा सर्नेछ। सोही स्थानमा शुक्रबार कार्यक्रम आयोजना गरी घोषणा पत्र सार्वजनिक गरिने छ।
कार्यक्रममा जेष्ठ कम्युनिस्ट योद्धाहरुलाई सम्मान गरिनेछ। एमाले केन्द्रिय समितिले १७ जन कम्युनिस्ट योद्धाहरुलाई सम्मान गर्ने जनाएको छ। सोही अवसरमा पार्टी प्रवेश कार्यक्रमसमेत रहेको रिजालले बताए।
त्यसैगरी एमालेले देशभरका ७५३ वटै पालिकाका केन्द्रमा कार्यक्रम गरी स्थानीय चुनावका लागि पार्टीको स्थानीय प्रतिवद्धा पत्र पनि सार्वजानिक गर्दैछ । ती कार्यक्रममा पनि जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम छ ।