२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

मुस्ताङमा पनि सुरु भयो स्वास्थ्य बिमा कार्यक्रम


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७८ , बिहिबार

  • मुस्ताङमा पनि सुरु भयो स्वास्थ्य बिमा कार्यक्रम

    जोमसोम, २३ मंसिर – मुस्ताङका ५ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । संविधानको नागरिकलाई स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वाथ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने प्रावधानअनुसार स्वास्थ्य बिमा बोर्डको समन्वयमा मुस्ताङमा बिमा कार्यक्रम सुभारम्भ गरिएको हो ।

    नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप लागू भएको बिमा कार्यक्रमअन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तहमा बिमा फोकल पर्सन समेत परिचालन गरिएको छ ।

    गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले एक समारोहकाबीच बिहीबार मुस्ताङमा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ गरे । सांसद थकालीले स्वास्थ्य उपचार खर्चमा सबै नागरिकको पहुँच पुग्न नसक्ने भएकाले सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको बताए ।

    ‘जटिल प्रकृतिका बिरामी आर्थिक भारका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ, सांसद थकालीले भने, ‘स्वास्थ्यको पहुँच सबै नागरिकमा पुर्‍याउन  र स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन बिमा कार्यक्रम प्रभावकारी हुनेछ।’

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सरकारले कार्यन्वयनमा ल्याएको बिमा कार्यक्रमले विपन्न जनतालाई राहत पुग्ने बताए । उनले बिमा कार्यक्रमलाई प्रभावकारि बनाउन प्रशासनिक निकायबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    अस्पताल व्यवस्थापन समितिकी निमित्त कार्यबाहक अध्यक्ष शर्मिला गुरुङले नागरिकको स्वास्थ्य उपचारमा बिमा कार्यक्रमले निकै राहत पुर्‍याउने  बताइन् । उनले धेरैभन्दा धेरै नागरिकले स्वास्थ्य बिमा गुरुन् भन्ने हाम्रो अपेक्षा रहेको बताइन् । उनले जिल्ला अस्पतालमा न्युनतम स्रोत साधन उपलब्ध भएपनि जनशक्ति अभावले असप्तालले दिने सुविधा सेवामैत्री बन्न अप्ठ्यारो परेको उल्लेख गरिन् ।

    सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले २०७२ साल चैत्र २५ गतेबाट बिमा कार्यक्रम लागू गरेको हो । तर,मुस्ताङमा चालु वर्षको जेठ महिनादेखि यस कार्यक्रम लागू भएपनि बिमा फोकल पर्सनको प्रशिक्षण तथा आवश्यक तयारीका लागि ६ महिनापछि मात्र कार्यान्वयनमा आएको हो ।

    बिमा कार्यक्रममा सेवा प्रदायक संस्था, नेपाल सरकार मातहत र निजी क्षेत्रलाई समेत सहभागी गराइने जनाइएको छ । बिमा दर्ताका लागि सम्बन्धित जिल्लाका वडा/वडामा एजेन्ट अर्थात फोकल पर्सन खटाइने छ ।

    बिमामा आवद्ध भएका नागरिकको सेवा एक्टिभ ३ महिनापछि मात्र सुरु हुन्छ । बिमामा ७० वर्ष कटेका ज्येष्ठ नागरिक तथा अति विपन्न परिवारलाई निशुल्क बिमाको व्यवस्था मिलाइएको छ ।

    यस्तै, अपाङ्गता भएका वा स्वास्थ्य स्वयम सेविकालाई ५० प्रतिशत सहुलितमा स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ। अन्यको हकमा ५ जना परिवार संख्या भएका नागरिकलाई वार्षिक  ३५ सय रुपैयाँ शुल्क तिरेपछि बिमामा आवद्धता गराइन्छ, सबैले यो सुविधा पाउँछन् । तर ५ जनाको संख्याभन्दा बढी भएमा थप शुल्क लाग्नेछ । सरकारले उपलब्ध गराउने बिमा सुविधा २ लाखसम्मको हुनेछ ।

    मुस्ताङको जिल्ला अस्पताल जोमसोम र थासाङको लेते प्राथमिक केन्द्रबाट स्वास्थ्य बिमाको सेवा लिन सकिने छ । मुस्ताङबाट रिफर गरेको वा कुनै कारणबश अन्यत्र आकस्मिक स्वास्थ्य सेवा लिन परेमा पोखराको मनिपाल ,गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र जेएमसी अस्पतालमा उपचार गर्न सकिने जनाईएको छ ।

    प्रत्येक नागरिकको परिवारले बिमा गर्दा त्यसको सम्झौता अवधि एक वर्ष रहने र त्यपछि पुन तोकिए बमोजिम नविकरण गर्नुपर्ने हुन्छ ।

    जोमसोम अस्पतालको स्मारिका बिमोचन

    बिमा कार्यक्रमका क्रममा जिल्ला अस्पताल जोमसोमले आफ्नो ३ वर्षीय कार्यअवधिको जानकारीमूलक स्मारिका पुस्तक बिमोचन गरेको छ । सांसद महेन्द्रबहादुर थकाली, प्रजिअ नेत्रप्रसाद शर्मा र अस्पताल व्यवस्थापन समितिकी निमित्त प्रमुख शर्मिला गुरुङले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend