बागलुङ, १३ बैशाख- नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नं. १ का सभापति गणेश नेपालीले काँग्रेस पाटी परित्याग गरेका छन् । स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोटमा अन्याय भएको भन्दै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
उमेदवार छनोटमा भएको अन्याय, स्वेच्छाचारिता र कुनै निश्चित समुदायको अस्तित्व स्वीकार नगर्ने दम्भ, अहंकारी प्रवृतिप्रति गंभिर आपत्ती प्रकट गर्दै नेपालीले मंगलवार पार्टीको सभापति र नेपाली कांग्रेसको साधारण सदस्य समेत त्यागेको वताएका छन् ।
नेपालीले मंगलवार विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसले आफुलाई सबैभन्दा लोकतान्त्रिक र परिस्कृत पार्टीको रुपमा दावी गर्ने तर निश्चित समुदायको अस्तित्व स्वीकार नगर्ने प्रवृतिप्रति आपत्ती जनाएका छन् ।
समाजमा न्याय, समानता, अवसरको समान बाँडफाँडको लागि लामो समयदेखि समाज, आन्तरिक पार्टी र समुदायसंग निरन्तर लड्दै आएको उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । दलित समुदायको उत्थानका लागि आफु क्रियाशिल रहेको तर नेपाली कांग्रेसले दलितको अस्तित्व स्वीकार नगरेको उल्लेख गरेका छन् ।
उनले काठेखोला १ को वडा अध्यक्षमा स्वतन्त्र रुपमा आफुले उमेदवारी दिएको जानकारी गराउदै सहयोगका लागि वडावासीमा अपिल गरेका छन् ।
गठबन्धनबाट काठेखोला वडा नं. १ नेपाली कांग्रेसको भागमा परेपछि गणेश नेपालीलाई उमेदवार बनाउने आन्तरिक सहमति भएको थियो । उमेदवारी दर्ता गर्ने क्रममा खडक थापाले नै उमेदवारी दर्ता गरेपछि नेपालीले सामाजिक सञ्जालमा समेत आपत्ती प्रकट गरेका थिए ।
नेपालीले मंगलवार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोचेको थिए, तिमी एक भविष्य बोकेका नेता तर तिमी त वार्डमा हालीमुहाली गर्न र सोझासाझालाई खाल्डामा हाल्न र उत्पीडित वर्गको टाउकोमा टेकेर हिरो बन्न मात्र राजनीतिमा आएका रहेछौ, त्यो पनि वडा तहमा । शुभकामना ‘‘जीवन भर वडाको अध्यक्ष भइरहने सफलता मिलोस ।’ यो कटाक्ष उनले वडा अध्यक्ष खडक थापाप्रति गरेका हुन् ।
निवर्तमान अध्यक्ष खडक थापाले गणेश नेपालीलाई अवको वडा अध्यक्षको उमेदवार भनेर प्रस्तुत गरेका थिए । तर अन्तिममा आफै उमेदवार बनेपछि उनले पार्टीको साधारण सदस्य समेत नरहने पार्टी छाडेको घोषणा गरेका थिए ।