पोखरा, १४ बैशाख – पोखरा महानगर प्रमुखका लागि आइतबार र सोमबार गरी २८ जनाले उम्मेदवारी दिएका छन् । पोखरा प्रमुखका लागि विभिन्न राजनीतिक दलसहित कांग्रेस नेतृत्वको ५ दलीय सत्ताले उम्मेदवारी दिएका छन् । तर, गठबन्धनका विरोध गर्दै कांग्रेसबाट ३ जनाले बागी उम्मेदवारी दिए । त्यसैमध्येका एक हुन्, ऋषिराम सापकोटा ।
नेपाली कांग्रेसले रुख चिन्ह नै बेचेको आरोप सत्तागठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका सापकोटाले आफूले उम्मेदवारी दिएको बताएका छन् । मंगलबार घोषणापत्र सार्वजानिक गर्दै उनले आफू कांग्रेस नछाड्ने र अरुको चुनाव चिन्हमा पनि भोट हाल्न नसक्ने बताएका हुन् ।
‘मेरो मेयरमा उठ्नुको कारण नै कांग्रेस हो । मैले रुख बाहेक अन्त मत दिन सक्दिनँ । चारतारेको परिचय बनाएको मैले कसरी कलममा मत हालूँ ?’ सापकोटाले भने, ‘हामी चारतारेका कार्यकर्ता हौ नेताको दास होइनौं ।’
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाप्रति खनिँदै सापकोटाले आफ्नो र देउवाको राजनीति उमेर एकै रहेको सुनाए । उनले देउवाका कारण कांग्रेसका कार्यकर्ताले आफ्नो पहिचान गुमाउन बाध्य भएको बताए ।
‘मैले कांग्रेसका लागि करोडौं गुमाएर संस्था जोगाएको छु । राजनीतिको उमेर मेरो र देउवा जी को एकै हो । भलै उहाँ प्रधानमन्त्री हुनुभयो म एक सिपाही,’ उनले थपें, ‘हामी नेताको रैति होइन कार्यकर्ता भएर बाच्नुपर्छ ।’ आफू स्वतन्त्र उम्मेदवारी दिएपनि उनले कांग्रेसको झण्डालाई समेत अगाँल्दै ‘मेरो बुबाको नाम मैले सधैं लेख्छु । त्यसरी नै कांग्रेसको झण्डापनि त्यागदिनँ । मलाई थाहा छ मैले रुख चिन्ह पाउँदिन तर चारतारे छाडदिनँ ।’
पोखरामा घन्टाघर, भ्युटावर
सापकोटाले पोखरामा पनि घण्टाघरदेखि पोखरा टावर बनाउनेसम्मका घोषणापत्र जारी गरेका छन् । उनको घोषणापत्रमा लेखिएको छ, ‘महानगरपालिकामा एउटा विशाल घण्टाघर र सम्पूर्ण पोखराको दृश्यवालोकनका लागि र पर्यटक आकषर्णका लागि कम्तिमा सय फिटको पोखरा टावर निर्माण ।’
उनको घोषणापत्रमा फेवाताल, बेगनासताल, रुपातालको डाँडामा केवलकार निमार्ण गर्नेदेखि शिक्षा, स्वास्थ्य तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्नेसम्मका विषय छन् । उनले ३५ बुँदे घोषणापत्र सार्वजानिक गरेका हुन् । सापकोटा २०५२ सालमा नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको कोषाध्यक्ष हुन् । उनी पोखराका उद्योगी, व्यापारी, व्यवसायी समेत हुन् ।