पर्वत, २० बैशाख– पर्वतमा आफूहरूलाई सम्मानजनक रूपमा पद नदिइएको बताउँदै गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी अन्ततः गठबन्धनमै रहने भएको छ।
सोमबार बिहान गठबन्धनमा रहेका दलहरूबीच भएको बैठकमा केही शर्तहरूसहित सहमति भएको र जसपाले आफ्नो सबै शक्ति गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रयोग गर्ने सहमति बनेको जनता समाजवादी पार्टीकी जिल्ला अध्यक्ष देवी कुमारी क्षेत्रीले बताइन्।
सहमतिसँगै कुश्मा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका ढाकाराम गौतम, उपप्रमुख पदमा उम्मेदवारी दिएकी इन्दिरा अधिकारी तथा मोदी गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराएका डम्बरबहादुर केसीले गठबन्धनबाट साझा उम्मेदवार बनेकाहरूलाई सघाउने र केही वडा सदस्य सहितका पदहरूमा जसपाका उम्मेदवार नै कायम हुने गरी सहमति भएको उनको भनाइ छ।
‘सोमबार गठबन्धनको बैठकमा केही सर्तहरू सहितको समझदारी बनेको छ। गठबन्धनबाट उम्मेदवार बनेकाहरूलाई जसपाले सघाउने र आफ्नो सबै शक्ति त्यसमै प्रयोग गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘केही वडामा हाम्रा उम्मेदवारहरूकै उम्मेदवारी कायम रहने भनेर सहमति बनेको हो। कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार तथा मोदी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवारले पनि गठबन्धनकै उम्मेदवारलाई नै सघाउनु हुनेछ।’