काठमाडौं, २४ मंसिर- पटक-पटक कार्यतालिका हेरफेर हुँदै आए पनि नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । १३औँ महाधिवेशन पनि ०७२ फागुनमा भृकुटीमण्डपमै भएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको सम्पूर्ण तयारी सकिएकाले उद्घाटन समारोहलाई चुस्त र व्यवस्थित रूपमा सम्पन्न गर्ने बताए । उद्घाटन समारोह दुई घन्टाभित्रै सक्ने तयारी छ । शर्माका अनुसार उद्घाटनमा देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
उद्घाटनका लागि भृकुटीमण्डपको प्रांगणमा एक सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत उपस्थिति हुने भएका छन् ।
महाधिवेशनमा सहभागी कुल चार हजार सात सय महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश काठमाडौं आइसकेका छन् । उनीहरूका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला बिहीबारदेखि नै पार्टी केन्द्रीय कार्यालय सानेपाबाट वितरण सुरु गरिएको छ ।
कोभिड-१९ महामारीका कारण काठमाडौं उपत्यकाबाहिरबाट सहभागी बोलाइएको छैन । पार्टीका महाधिवेशन प्रतिनिधि र स्वःस्फुर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहनेछन् । सहभागीलाई हेर्न सजिलोका लागि मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रूखअंकित झन्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुनेछ । वासका लागि सुन्धाराका विभिन्न होटेलमा व्यवस्था गरिएको छ । बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार गरिएको छ । हलभित्र पनि सातवटा डिस्प्ले राखिएको छ ।
कांग्रेसले महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन मूल तयारी र अन्य नेताहरूको संयोजकत्वमा आर्थिकलगायत उपसमिति बनाइएको थियो । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको व्यवस्थापनको प्रबन्ध मिलाएको छ । नेपाल प्रहरीले तीन तहको घेरा र उच्च प्रविधिसहित सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।
विगतमा केन्द्रीय महाधिवेशनबाट पार्टीको नीति तथा कार्यक्रम पनि छलफल गरेर अनुमोदन गर्ने गर्दथ्यो । तर, यसपटक तोकिएको समयभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेकाले कांग्रेसले नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय थियो ।