काठमाडौं, २८ बैशाख – आर्थिक वर्ष २०७८\७९ को ९ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । आयात अनियन्त्रित रुपमा बढ्दा देशको समग्र अर्थतन्त्र नै डामाडोल बनेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म आयात ३२ प्रतिशत बढेर १४ खर्ब ६६ अर्ब पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा १३ दशमलब १ प्रतिशतले आयात बढेको थियो ।
यस वर्ष भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलब ४ प्रतिशत, २८ दशमलब ६ प्रतिशत र ५९ दशमलब २ प्रतिशतले बढेको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ । सरकारले व्यापार घाटा बढेको भन्दै विभिन्न वस्तुहरुको आयातमा कडाइ गरे पनि त्यसको खासै प्रभाव देखिएको छैन ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ । रासायनिक मल, सिमेन्ट, दाल, मोलासीस सुगरलगायतका वस्तुको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसो त यस अवधिमा निर्यातमा पनि ६९ दशमलब ४ प्रतिशतको उच्च वृद्धि देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २० दशमलब २ प्रतिशतले निर्यात बढेको थियो । यस आर्थिक वर्ष वैशाखसम्म १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँको वस्तु नेपालबाट निर्यात भएको राष्ट्र बैंकको तथ्यांक छ ।