काठमाडौं, २९ बैशाख – निर्वाचन आयोगले नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) की नेत्री गंगा दाहालसँग २४ घण्टे स्पष्टीकरण मागेको छ।
निर्वाचन आचारसंहित उल्लंघन गरेकाले गुरुङ र दाहालसँग २४ घण्टे स्पष्टीकरण मागिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनीहरूले मौन अवधिमा सामाजिक सञ्जालमार्फत भोट मागेकाले स्पष्टीकरण मागिएको अर्यालले बताए।
एमाले उपमहासचिव गुरुङले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एमाले उम्मेदवारलाई भोट मागिएको भिडियो पोस्ट गरेका थिए। त्यस्तै, माओवादी नेत्री दाहालले भरतपुरका मेयर र उपमेयरका उम्मेदवारलाई भोट दिन आग्रह गर्दै फेसबुकमा लेखेकी थिइन्।
आयोगले अहिलेसम्म निर्वाचन आचारसंहित उल्लंघन गर्ने ६६ जनासँग स्पष्टीकरण मागेको छ। त्यस्तै, नौ जनालाई सचेत गराएको छ भने एक जनाको ध्यानाकर्षण गराएको छ।