म्याग्दी, २ जेठ– मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका विजयी भएका हुन् । रोकाले तीन हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले दुई हजार ८ सय ५ र नेकपा माओवादी केन्द्रका टेकबहादुर विकले एक हजार ५ सय २१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकै पेमा अधिकारी ४ हजार २ सय ६१ मतसहितविजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले एक हजार ३ सय ७३ मत प्राप्त गरेकी छन् ।
मंगला–५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्षसहित १, २ र ५ गरी ३ वडा जितेको छ । माओवादीले वडा नम्बर ३ र कांग्रेसले वडा नम्बर ४ बरञ्जामा जित हासिल गरेको छ । २०७४ सालको निर्वाचनमा जितेको वडा नम्बर ३ यो पटक एमालेले गुमाएको छ भने गत चुनावमा शून्य रहेको कांग्रेसले यसपटक एउटा वडा जितेको छ ।