१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

म्याग्दीमा निर्वाचन नतिजा: एमाले बढ्यो, कांग्रेस खस्कियो


जनमञ्च संवाददाता
  • ७ जेष्ठ २०७९ , शनिबार

  • म्याग्दीमा निर्वाचन नतिजा: एमाले बढ्यो, कांग्रेस खस्कियो

    म्याग्दी, ७ जेठ – स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा एमालेले चार वटा र कांग्रेसले दुई वटा स्थानीय तहको नेतृत्व जितेका छन्।माओवादीले एक/एक वटा उपमेयर र उपाध्यक्ष, एमालेले तीन वटा र कांग्रेसले एक उपाध्यक्ष जितेका छन्। अघिल्लो चुनावमा छ वटा मेयर, अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले यसपालि तीन वटा पालिकाको नेतृत्व गुमाएको छ।

     

    नेतृत्वमा यसअघि शून्य रहेको माओवादीले यसपालि एक उपप्रमुख र एक उपाध्यक्ष जितेको छ। गत चुनावमा बेनीको उपप्रमुख र केही वडामा सदस्य जितेको राप्रपाले यसपाली कुनै पदमा विजयी हुन सकेन्।

    जिल्लाको चुनावी नतिजामा एमालेले वर्चश्व कायम राख्दा कांग्रेसको खस्किएको र माओवादीको सुधार भएको छ। अघिल्लो स्थानीय चुनावमा एमालेले २३, कांग्रेसले १५ र माओवादीले ७ वटा वडामा जितेका थिए।

    यसपालि नेकपा एमालेले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडा अध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुल्ला सदस्यगरी १८८ पदमा जितेको छ।

    नेपाली कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा अध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुल्ला सदस्यगरी कुल ८८ पदमा जितेका छन्।

    नेकपा माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, ६ वडाध्यक्ष, ६ दलित महिला सदस्य, ६ महिला सदस्य र १० खुल्ला सदस्य गरी ३० पदमा जितेको छ। धवलागिरी गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र हुन्।

    कसले कहाँ गुमाए र पाए ? 

    अघिल्लो कार्यकालमा दुई अध्यक्ष र तीन उपाध्यक्ष जितेको एमालेले यसपाली एक नगरप्रमुख र तीन/तीन जना अध्यक्ष उपाध्यक्ष जितेको हो। यसअघि जितेको एमालेले मंगला र कांग्रेसले रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जोगाएका छन्।

    एमालेले गुमाएको धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुन निर्वाचित भए। यसअघि राप्रपाले जितेको बेनी नगरपालिकाको उपप्रमुखमा यसपाली नेकपा माओवादी केन्द्रका ज्योती लामिछाने पौडेल विजयी भइन्।

    यसअघि कांग्रेसले जितेको बेनीको नगरप्रमुखमा एमालेका सुरत केसी, अन्नपूर्णको अध्यक्षमा भारत पुन, उपाध्यक्षमा दिवा तिलिजा, मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा लक्ष्मीदेवी घर्ति पुन निर्वाचित भएका छन्।

    एमालेका सतप्रसाद रोकाले मंगला गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि विजयी हुँदा उपाध्यक्ष पनि सोही पार्टीकी पेमा अधिकारीले जितिन्। कांग्रेसका भवबहादुर भण्डारीले रघुगंगा गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक विजयी हुँदा कांग्रेसकै प्रेमकुमारी पुन उपाध्यक्षमा निर्वाचित भइन्।

    नेपाली कांग्रेस र माओवादीले बेनी नगरपालिकाको प्रमुख, उपप्रमुख र पाँच वटा वडा तथा धवलागिरी गाउँपालिकको अध्यक्ष/उपाध्यक्ष र सात वटै वडामा तालमेल गरेका थिए। तालमेलबाट बेनीमा कांग्रेसले मेयर जित्न सकेन भने माओवादीले उपमेयर जित्यो।

    धवलागिरीमा तालमेल गरेर एमालेको गढ भत्काउदै अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी भए। जिल्लाभर र वडा तहसम्मै तालमेल नहुँदाको लाभ एमालेलाई भएको कांग्रेस र माओवादीका नेताहरुले बताउन थालेका छन्।

    महिला नेतृत्व शून्य :
    म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उमेद्वार निर्वाचित भएका छन्। उपाध्यक्षमा पाँच जना महिला र एक जना पुरुष उमेद्वार विजयी भएका छन्। नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन जना र वडाको नेतृत्वका लागि दुई जना महिला उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

    धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उमेद्वार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भइन्। नेकपा माओवादी केन्द्रबाट रघुगंगा गाउँपाकिलाको अध्यक्षको उमेद्वार बनेकी मिना विश्वकर्मा तेस्रो बनिन्।

    राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उमेद्वार भएकी मिनाकुमारी शर्मा चौथो बनिन्। मंगला गाउँपालिकाको वडा नम्बर ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडा अध्यक्षको उमेद्वार बनाएका थिए। कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडा अध्यक्षमा निर्वाचित भए।

    स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरीको अध्यक्षमा एमालेकी थमसरा पुन, सोही पालिकाको वडा नम्बर ५ मा कांग्रेसकी खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसकी पिपला बुढाथोकी वडा अध्यक्षमा निर्वाचित हुनुभएको भएका थिए।

    पहिले हारे, अहिले हराए:

    स्थानीय तह निर्वाचनमा म्याग्दीका दुई जना उमेद्वारले यसअघि जो सँग पराजित भएका थिए यसपाली उसैलाई हराएर जियी हाँसिल गरेका छन्।

    मालिका गाउँपालिकाको अध्यक्षमा अघिल्लो निर्वाचनमा पराजित भएका नेकपा एमालेका बेगप्रसाद गर्वुजाले निवर्तमान गाउँपालिका अध्यक्ष रेहेका कांग्रेसका श्रीप्रसाद रोकालाई पराजीत गर्दै अध्यक्षमा विजयी भएका हुन्।

    २०७४ सालको निर्वाचनमा कांग्रेसका रोकाले गर्वुजालाई ८५ मतले पराजीत गरी विजयी भएका थिए। यस पटकको निर्वाचनमा गर्वुजाले रोकालाई १२१ मत अन्तरले हराउँदै जित हाँसिल गरेका हुन्। गर्बुजाले ३ हजार ९१ मत ल्याएर बिजयी हुँदा कांग्रेसका रोकाले दुई हजार ९७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरेका छन् ।

    त्यसैगरि मंगला गाउँपालिका–३  बरंजामा नेकपा माओवादी केन्द्रका यामबहादुर रोकाले अघिल्लो निर्वाचनमा आफुलाई पराजीत गरेका नेकपा एमालेका कविन्द्र रोकालाई पछाडी गर्दै दोस्रो प्रयासमा वडा अध्यक्ष निर्वाचित भएका छन्।

    निवर्तमान वडा अध्यक्ष रहेका कबिन्द्रलाई २१४ मतान्तरले पराजीत गर्दै यामबहादुर वडा अध्यक्षमा निर्वाचित भएका हुन्। यामले ७९१ मत कविन्द्रले ५७७ र नेपाली कांग्रेसका टेक बहादुर छन्त्यालले २१५ मत पाए। अघिल्लो निर्वाचनमा कबिन्द्रले ६०५ मत प्राप्त गरि बिजयी हुँदा यामले ५२७ मत पाएका थिए।

    वडाका पाँचै जना दोस्रो कार्यकालका लागि निर्वाचित 

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ राम्चेको वडा अध्यक्ष र सदस्यहरुमा यस यसअघिकै जनप्रतिनिधिको टिम दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। वडा अध्यक्ष खमबहादुर गर्वुजा, महिला सदस्य देबकुमारी खोरजा पुन, दलित महिला सदस्य एलिना रसाईली विक, खुला सदस्य गेममायाँ पुन र यमबहादुर पुन निर्वाचित भएका हुन्।

    सवै जना दोहोरिएर निर्वाचित भएका हुन्। वडा अध्यक्ष गर्बुजाले ५४१, महिला सदस्य पुनले ५११, दलित महिला सदस्य विकले ५¬०३, खुला सदस्य गेममायाँले ४४३ र यमबहादुरले ५१७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend