पोखरा, ९ जेठ – पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार विहानसम्म १ लाख २२ हजार २ सय १९ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ९ सय ७९ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २१ हजार ७ मत गणना गर्न बाँकी छ ।
आचार्यले हालसम्म ४९ हजार २ सय ४१ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले उम्मेदवार थापाले ४५ हजार २ सय ६२ मत ल्याएर पछ्र्याइरहेका छन् ।
अब वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी छ । यी वडाहरुको प्रारम्भिक नतिजा अनुसार वडा नम्बर १७, १८, १९, ३१, ३२ र ३३ मा आचार्यलाई केहि मत बढी आइरहेको छ । बाँकी वडा नम्बर २१ र २२ मा भने थापालाई झिनो मत बढी छ ।
वडा नम्बर १७, १९ र २१ बाट थापालाई धेरै नै मत आउने अपेक्षा एमालेले गरेको थियो । तर झण्डै आधा मत गणना गर्दा ती वडाहरुमा थापालाई सोचेजस्तो मत आएन । उसो त एमालेको गढका रुपमा परिचित वडा नम्बर ५ र २६ मा पनि थापालाई राम्रो मत आएन । त्यसैले गणना भइरहेका वडाहरुको बाँकी मत गणनामा पनि थापालाई धेरै मत आउने सम्भावना कमै छ ।
मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार २ सय ५७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ८ सय ४१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङपनि जिततर्फ उन्मुख भएकी छन् । उनले पनि कांग्रेस उम्मेदवार कोपिला रानाभाटसँगको मतान्तर बढाउँदै लगेकी छन् ।
गुरुङले ५१ हजार ५ सय ८९ मत प्राप्त गरेर अग्रता जारी राखेकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ४८ हजार ४ सय ९२ मत ल्याएर पछ्याईरहेकी छन् । गुरुङ रानाभाट भन्दा ३ हजार ९७ मतले अघि छिन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार २ सय ९९ मत प्राप्त गरेकी छन् ।