९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्दै पदभार सम्हाले आचार्यले


जनमञ्च संवाददाता
  • १२ जेष्ठ २०७९ , बिहिबार

  • पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्दै पदभार सम्हाले आचार्यले

    पोखरा, १२ जेठ – पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई आग्रहदेखि पोखरा स्मारक, पोषण भत्ता, अपांगता भएका बालबालिकाहरूलाई शिक्षामा समान पहुँच स्थापित गर्नेलगायतका विभिन्न पाँच निर्णय गर्दै पोखरा महानगरपालिकाका नयाँ मेयर र उपमेयरले बिहीबार पद सम्हालेका छन् ।

    सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्य मेयर र एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ उपमेयरमा निर्वाचित भएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले बिहीबार आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरूको घोषणासभा, प्रमाणपत्र वितरण तथा शपथग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मेयर र उपमेयरले महानगर कार्यालयमा पुगेर पद सम्हालेका थिए ।

    मेयर आर्चायले तीन र उपमेयरले दुई निर्णयमा हस्ताक्षर गर्दै काम सुरु गरेका छन् । मेयर आर्चायले पहिलो निर्णयमा विश्वकै चिरपरिचित सुन्दर नगरी पोखरालाई ‘नेपालको पर्यटकीय राजधानी’ को रूपमा घोषणा गर्ने गरी नेपाल सरकारबाट निर्णय हुन मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने रहेको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न महानगरले यसअघि नै करिब चार वर्षअघि निर्णय गरिसकेको थियो भने गण्डकी प्रदेश सरकारले समेत दुईपटक निर्णय गर्दै कार्यान्वयनका लागि संघीय सरकारलाई लेखी पठाइसकेको छ ।

    दोस्रो निर्णयमा पोखराको मौलिक पहिचान झल्किने ‘पोखरा स्मारकको’ थ्रिडीसहितको डिजाइन बनाई पेस गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत गरी खरिद प्रक्रिया अघि बढाउने रहेको छ ।

    हाल पोखरा चिनाउने केही योजना नभएको भन्दै आचार्यले अक्सफोर्ड युनिभर्सिटीमा उस्को आफ्नै सिम्बोल छ, पेरिसमा आइफिल टावर छ, अमेरिकामा समेत त्यस्तै छ, जुन आफनो अपनत्व महसुस हुने प्रतीक हुन् । त्यस्तै पोखरामा पनि बनाउने उद्देश्यसहित काम सुरु गर्न लागेको आर्चायले बताए । एक महिनाको समय दिएर डिजाइन माग गर्ने र उत्कृष्ट हुनेलाई नगद दुई लाख पुरस्कार दिइने उनले जानकारी दिए ।

    यसैगरी, मेयर आचार्यले व्यक्तिगत घटना दर्ता कार्यलाई सहज र सर्वसुलभ बनाई न्यून आय भएका नागरिकलाई वडा समितिको सिफारिसमा आवश्यक बजेटको व्यवस्था मिलाई कार्यक्रम स्वीकृत गरी पोषण भत्ताबापत प्रोत्साहन रकम उपलब्ध गराउने तेस्रो निर्णय गरेका छन् । निर्वाचनका समय आफूहरूले गरेको घोषणा-पत्रबमोजिम निर्णय गरेको उनले बताए ।

    उपमेयर मञ्जुदेवी गुरुङले अपांगता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेकी छिन । यसैगरी, महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सम–सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने दोस्रो निर्णयमा हस्ताक्षर गर्दै उनले आफ्नो कार्यभार सम्हालेकी छिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend