८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
संस्मरण

युद्ध जितेको त्यो रात !


डा. बालकृष्ण साह
  • १८ असार २०७९ , शनिबार

  • युद्ध जितेको त्यो रात !

    मनमा धेरै शंका अनि त्रास राखेर शल्यक्रिया कक्षबाट बाहिरियौं। तर, जितेको खुसीभन्दा पनि लामो युद्धले थाकेको अनुहार थियो। मनकुमारी बाँचेर फर्केकी छिन्। चिकित्सकको लापरबाहीले वृद्धाको मृत्यु भनेर समाचार कतै छापिएन।

    हुन त विराटनगरबाट भोजपुरको गन्तव्य करिब दुई सय किलोमिटरको मात्रै हो। प्रदेश नम्बर १ (पूर्वाञ्चल) को कोसी अञ्चलमा पर्ने यी दुई जिल्ला क्रमशः दक्षिण र उत्तरमा पर्छन् अर्थात्, तराई र पहाडमा छन्। पहाडी अनि घुमाउरो बाटोका कारण सडक यात्राबाट त्यहाँ पुग्न ६–७ घण्टा नै लाग्यो। यसले मुलुकको सडक सञ्जाल र सडकमाथि गुणस्तरीयताको वास्तविकता देखाउँछ। सडक मात्र होइन, स्वास्थ्यमा पनि भोजपुरको वास्तविकता ऐनामा झैं छर्लंग पायौं, जब हाम्रो प्रतीक्षामा भोजपुर अस्पतालका डा. राजकुमार गजमेरका टिम र भोजपुरका तल्लो क्षेत्र आमचौक र हतुवागढीका आङ खसेर पीडामा रहेका आमाहरू थिए।

    भोजपुरमा आङ खसेका ५० वर्ष नाघेका महिला धेरै छन्। तर तिनको घरमा सहयोगी मान्छे भने थोरै छन्। उपचारका लागि सहर अर्थात् धरान, विराटनगर ल्याउन सकिँदैन। त्यसैले भोजपुर अस्पतालमै शल्यक्रिया गराउन पाए राम्रो हुने थियो भन्ने प्रस्ताव केही जिम्मेवार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ल्याएपछि यो अवसर जुरेको हो। स्वास्थ्य सेवा दिने उद्देश्य लिएर नै चिकित्सक भएकाले पंक्तिकारले यस प्रस्तावलाई अवसरका रूपमा लिएको थियो। शल्यक्रियाजस्तो गम्भीर विषय जहाँ पायो त्यहीँ चिर्नु त भएन नि ? सफलता नि पाउनु थियो।

    १० औं वर्षदेखि झुन्डिएर अप्ठ्यारो झेलिरहेका ती महिलाको पाठेघर फाल्नु थियो। हो, तिनै आङ (पाठेघर) जसबाट ४ देखि ६ जनासम्म सन्तानलाई जन्म दिएका थिए तिनले। तिनै सहृदयी आमाहरूको पीडा कम गराउनु थियो मैले। मलाई साथ दिन भोजपुर अस्पतालका चिकित्सकहरू तयार मात्रै भएनन्, सम्पूर्ण संयोजन गर्न लागि परे। स्थानीय स्वास्थ्य संयोजकहरू, नर्सिङ स्टाफ अनि अस्पताल परिवार नै यो ऐतिहासिक कामका लागि एकजुट भए। सेवा गर्ने यो उच्चतम अवसर मिलेको थियो। मैले यो अवसर गुमाउन चाहिनँ। शल्यक्रियामा सहयोग गर्ने स्वास्थ्यकर्मी भाइ आनन्द मण्डललाई साथमा लिएर भोजपुर अस्पताल पुगेको थिएँ।

    पहिलो दिन टाढाटाढाबाट धेरै आमा आइपुगेका थिएनन्। जम्मा पाँच जना मात्रै शल्यक्रियाका लागि तयार थिए। त्यसैले विस्तारै समयमै सबै शल्यक्रिया सकियो। नयाँ ठाउँ, नयाँ टिम सबै उत्साहित थियौं। अनि, पहिलो सफलतामा खुसी थियौं। तर, पूर्व अनुमानित तथा दिइएको संख्याअनुसार बिमारी आइपुगेका थिएनन्। त्यसैले चार दिन शल्यक्रिया गर्ने तालिका बनाए पनि तीन दिन मात्रै गरेर फर्किने योजना तय गरियो। सोहीअनुसार अन्तिम अर्थात् चौथो दिनका लागि भनिएको बिमारीलाई पनि भर्ना हुने प्रपञ्च मिलाइयो। दोस्रो दिन नौजनाको शल्यक्रिया गर्‍यौं। दोस्रो दिन, हामी नयाँ रहेनौं। त्यही कक्षमा अभ्यस्त भएकाले र हाम्रो कामको गति केही तेज भयो।

    तेस्रो दिन, शल्यक्रिया गर्ने अन्तिम दिन थियो। करिब १६ जना बिरामी भर्ना भए। तर, शल्यक्रिया गर्दै जाँदा दुई जनालाई ऐनेस्थेसियाले काम गरेन। अन्तिम अवस्थामा रद्द गर्नु पर्‍यो। अन्य दुईजनाको पनि विविध कारणले रद्द भयो। त्यसैले १२ जनाको शल्यक्रिया गर्नुपर्ने भयो। अन्यथा, तेस्रो दिन १४ वटा र चौथो दिन बिहान दुई वटा शल्यक्रिया गरेर विराटनगर फर्किने योजना थियो।

    अन्तिम दिनको अन्तिम बिमारी। करिब ९ बजे राति शल्यक्रिया गर्न सुरु गरें। उनी ५० वर्षीया ट्याम्केमेयुङ ६ (कोट) की मनकुमारी चर्मकार थिइन्। उनी आफ्नो अविवाहित छोरासँग आएकी थिइन्। दम रोगी पनि रहेकीले मनकुमारीको शल्यक्रिया गर्ने कि नगर्ने ? दोधारमा थियौं। तर, १० वर्षदेखि आङ खस्ने समस्या रहेकाले हिँडडुल गर्न नि समस्या भएको रहेछ। घरमा कामकाज गर्ने पनि कोही नभएको साथै आर्थिक अवस्था पनि कमजोर भएकाले सकिन्छ भने गरौं भन्ने निर्णयमा पुर्‍यौं।

    शल्यक्रियाका लागि दुईवटा महत्वपूर्ण पक्ष र जटिलता हुन्छन्। पहिलो ऐनेस्थेसिया पक्ष र जटिलता अनि अर्को शल्यक्रियाको आफ्नै पक्ष र जटिलता। दमका रोगीमा ऐनेस्थेसियाले गर्दा जटिलता आउन सक्छ भन्ने थियो। तर ऐन्सेथेटिकले अनुमति दिएकाले उनको शल्यक्रिया गर्ने निर्णय भएको थियो। ९ बजे शल्यक्रिया सुरु गरियो। १० बजे काम सकेर खाना खाने, एकछिन रमाइलो गर्ने र सुन्दर सम्झना लिएर विराटनगर फर्किने सोचमा थियौं हामी। तर, त्यसो हुन सकेन। परिस्थितिले जटिल मोड लियो। उनको शल्यक्रिया गर्ने क्रममा रक्तस्राव हुन थाल्यो। रक्तस्राव रोक्ने धेरै प्रयास गरियो तर कहाँबाट रक्तस्राव भएको खोज्न सकिरहेका थिएनौं।

    अहँ अब हुँदैन। बचाउन सकिँदैन जस्तो भयो। तलबाट (अर्थात् आङ खसेको पाठेघरको शल्यक्रिया योनिमार्गबाट नै गरिएको हुन्छ) त्यहीँबाट रक्तस्राव भएको विन्दु खोज्न सकिएन। त्यसपछि जनरल सर्जनको मद्दतले पेट खोल्नु पर्छ भन्ने भयो। भोजपुरमा सर्जन कहाँ पाउनु ? सर्जन आउने सम्भावना थिएन। अब के गर्ने ? बिमारीलाई आफ्नै अगाडि कसरी मर्न दिनु ? त्यो मृत्यु कसरी हेर्न सक्नु ? हामीसँग उपायहरू कम थिए। आशाका किरणहरू घट्दै गएका थिए। उनलाई दिएको ऐनेस्थेसियाले छोड्दै थियो। त्यसैले दुखाइ बढ्न थालिसकेको थियो। के गर्ने ? सोच्न सकिएन। दिमाग शून्य भयो।

    रक्तस्राव भएको विन्दु खोज्न सकिएन। त्यसपछि जनरल सर्जनको मद्दतले पेट खोल्नुपर्छ भन्ने भयो। भोजपुरमा सर्जन कहाँ पाउनु ? सर्जन आउने सम्भावना थिएन। अब के गर्ने ? बिमारीलाई आफ्नै अगाडि कसरी मर्न दिनु ?

    रगत मगायौं तर ब्लड बैंक थिएन। रगतको समूह हेरेर प्रहरी, सशस्त्र प्रहरी र सैनिक ब्यारेकमा सो समूहका रगतका लागि खबर गर्‍यौं। डीएसपी साबलगायत केही जवान आउनुभयो। तीन पिन्ट रगत ल्याएकाले रगत दिन थालियो। बिमारीलाई एनेन्स्थेसियाले छोड्यो। दुःखाइ कम गराउँदै बिरामीलाई बेहोस बनाइयो। तर पनि रक्तस्राव रोकिएन।

    डा. सञ्जयले बिमारीका आफन्तलाई बीचबीचमा सम्झाउँदै थिए। बिमारीको गम्भीरता र भवितव्य हुन सक्ने खतराबारे अवगत गराउँदै थिए। बिमारीको छोरीले कुरा बुझेको जस्तै गर्दै थियो रे। तर, कान्छो छोरा उमेरले परिपक्व नभएकाले अनि पेसाले सहचालक भएकाले चोकका युवा बोलाउन थाले। हिँडेर आएर भर्ना भएको, हेर्दा बिमारी नदेखिने ५० वर्षीया आमाको शल्यक्रिया गर्ने क्रममा मृत्यु भन्ने खबर गएको भए के हुन्थ्यो ? अनुमान गर्न सकिन्छ। तर, म त्यो सोच्न सकिरहेको थिइनँ, कल्पनाबाहिरको कुरा थियो त्यो मेरा लागि। परिवेशले यसरी च्यापिरहेको थियो कि त्यो बाध्यताको जञ्जीर कसरी चुडाल्ने ? बस्, दिमागमा यत्ति घुमिरहेको थियो, फनफनी।

    यी बाहिरी वातावरणभन्दा पनि आँखाकै अगाडि मृत्युुको कालो बादल मडारिएको देखेर हामी सबै (शल्य समूह) चिन्तित थियौं। शून्य समय र शून्य दिमागमा पनि आशाका किरण खोज्दै थियौं। डा. राजकुमारले धरानको सर्जनलाई फोन सम्पर्क गरे। रातको १२ बजे सर्जनको मोबाइलले स्विच अफ भनेन। फोन रिसिभ भयो। केसको अवस्था सुनेर सर्जनको निद्रा हरायो होला। १ सय ५६ किलोमिटर पहाडी यात्राको दूरी। ५ घण्टाभन्दा कममा पार गर्ने सम्भावना थिएन। डा. रोजिनाले दुईवटा एम्बुलेन्स तयार गरिन्। बिमारीसँगै हामी पनि धरान जाने कुरा भयो तर ५ घण्टा ? बाटोमा बिमारी बचाउन सकिने अवस्था थिएन।

    आनन्दको शल्यक्रियामा लामो अनुभव थियो। मलाई सम्झाउँदै ‘मर्ता क्या नही कर्ता’ अब पेट खोलुम् सर भने उनले। पेट खोल्यौं। पेटभरि रगत थियो। सफा गर्‍यौं। रक्तस्राव भएको ठाउँ खोज्यौं। गाह्रो भयो। ठ्याक्कै ठाउँ नभेटे पनि जुन धमनीबाट भएको हुनुपर्छ भन्ने थियो त्यसको माउ धमनी भेटियो। अर्थात् इन्टरनल इलियाक आर्टरी बाध्यौं। रक्तस्राव रोकियो। नयाँ आशा पलायो।

    घडी हेर्‍यौं, रातको २ बजेको थियो। १० बजे खाना खाने भनेका थियौं, २ बज्दा पनि भोक थिएन। शरीरमा थकान थिएन तर अझै डर थियो। रक्तस्राब रोकिएपछि शल्यक्रिया सक्यौं। बिमारीको अवस्था ठीक देखियो। तर, पनि दमको पुरानो रोगी अनि लामो अवधिको शल्यक्रिया, नसाबाट दिएको धेरै स्लाइन, रगत अनि औषधिहरूले थपिएको जटिलताका कारण ढुक्क हुने अवस्था थिएन। मनमा धेरै शंका अनि त्रास राखेर शल्यक्रिया कक्षबाट बाहिरियौं। तर, जितेको खुसीभन्दा पनि लामो युद्धले थाकेको अनुहार थियो। मनकुमारी बाँचेर फर्केकी छिन्। उनको कान्छो छोराले अस्पताल घेर्नु परेन। फेरि चिकित्सकको लापरबाहीले वृद्धाको  मृत्यु भनेर समाचार कतै छापिएन। जे भए पनि एउटा युद्ध जितेका थियौं।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend